अनुमतिबिना यार्सा टिप्ने ७४ जनालाई निकुञ्जले गर्‍यो कारवाही

मंगलबार, वैशाख २५, २०८१

काठमाडौँ- डोल्पाको पाटन क्षेत्रमा अनुमतिबिना यार्सा टिप्न जाने ७४ जनालाई जरिवाना गरिएको छ । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले उनीहरूलाई कारवाही गरेको हो ।

जेठ १० गतेबाट यार्सा सङ्कलन कार्य सुरु गर्ने निर्णय भए पनि लुकिछिपी यार्सा टिप्न पाटन जाँदै गरेका ७४ जनालाई सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीले भेटिएपछि पक्राउ गरेर जनही २ हजारका दरले जरिवाना गरेर फिर्ता पठाएको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार अवैध बाटो प्रयोग गरी निकुञ्ज क्षेत्रमा यार्सा टिप्न जाने गरिएको छ ।

अनुमतिबिना कोही कसैलाई यार्सा टिप्न पाटनतर्फ जान नदिएको र लुकिछिपी यार्सा जानेलाई फेला पारेको खण्डमा पक्राउ गरी सम्झाइबुझाई गरी नियमबमोजिम दण्ड जरिवाना गरेर फिर्ता पठाउने गरिएको छ । यार्सा चोर्ने व्यक्तिलाई नियन्त्रण नगरेमा पछि अनुमति लिएर जाने सङ्कलककर्तालाई घाटा लाग्ने, दुःख हुने निकुञ्जले जनाएको छ ।

डोल्पामा जेठ १० बाट यार्सा सङ्कलन कार्य सुरु गर्ने सर्वदलीय निर्णय भएपछि विभिन्न गाउँ बस्तीबाट स्थानीय यार्सा भएको क्षेत्रतर्फ जान थालिसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्