सगरमाथा आधार शिविरमा पर्यटन विभागको फिल्ड कार्यालय स्थापना

शुक्रबार, वैशाख १४, २०८१

 काठमाण्डाै – पर्यटन विभागले सगरमाथाको आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ ।

विभागले गठन गरेको पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिका सदस्य खिमलाल गौतमको नेतृत्वमा आज आधार शिविरमा विभागको फिल्ड कार्यालय स्थापना गरेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । फिल्ड कार्यालयमार्फत चलिरहेको वसन्तयामको आरोहणको अनुमगन, रिपोर्टिङ र समन्वय गर्ने उनले बताए ।

सरकारले सगरमाथा आरोहणका लागि हरेक समूहमा एक जना सम्पर्क अधिकृत पनि खटाउँछ । अहिलेसम्म सबैजसो सम्पर्क अधिकृत भने आशार शिविरमा पुगिसकेका छैनन् । फिल्ड कार्यालयबाट आरोही तथा उनीहरूका गतिविधिसँगै सम्पर्क अधिकृतको पनि अनुगमन हुने पर्यटन विभागले जनाएको छ ।

यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि आजसम्म तीन सय ९० जनाले अनुमति लिएका छन् । उनीहरूबाट सरकारले ५५ करोड ८५ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

यस्तै यस वर्षको वसन्तयाममा नेपालका २७ वटा हिमाल आरोहणका लागि आठ सय ६१ जनाले अनुमति लिएका विभागले जनाएको छ । सबै हिमालमा गरी ६३ करोड ३८ लाख रुपैयाँ रोयल्टी सङ्कलन भएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्