उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने

शुक्रबार, वैशाख १४, २०८१

काठमाडौँ - निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा सार्वजनिक सवारी साधन पनि निर्बाध सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

आयोगले यस सम्बन्धी प्रबन्ध मिलाउन गृहमन्त्रालयमार्फत् प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन समेत दिइसकेको छ ।

यसअघिका चुनावहरूमा अत्यावश्यक सेवा र निर्वाचन आयोगबाट सवारी पास भएका गाडीहरुमात्र सञ्चालन गर्न दिइन्थ्यो । तर उपनिर्वाचनमा भने मतदाताको सुविधाका लागि मतदान केन्द्रसम्मै निर्बाध रूपमा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय आयोगले गरेको हो ।

उपनिर्वाचनमा स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार