चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

मंगलबार, वैशाख ११, २०८१

दाङ । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोपेका छन् ।  चैते धानले उनको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि चैते धान खेतीलाई निरन्तरता दिएको उनी बताउँछन् ।

बर्सेनि चैते धान रोप्दै आएका घर्तीले हिजो रोपाइँ सकेका हुन् । उनले भने, ‘सिँचाइको  सुविधा छ, उत्पादन पनि मनग्ये हुने भएकाले पहिलेदेखि नै चैते धान खेती गर्दै आएका छौँ ।’ चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान र एक बाली गहुँ खेती गर्दै आउनुभएका घर्तीले बर्खे धानको तुलनामा चैते धान अधिक फल्ने बताए । उनले यस वर्ष ११ रोपनी क्षेत्रफलमा धान रोप्नुभएको छ ।

बङ्गलाचुलीका अर्का किसान मुगा डाँगी पनि अहिले चैते धान रोप्न व्यस्त छिन् ।  चार रोपनी जग्गामा रोपाइँ जारी छ । थोरै जमिनबाट धेरै उत्पादन लिन पनि आफूले प्रत्येक वर्ष धान खेती गर्दै आएको उनले बताइन् । स्थानीय सरकारबाट सहयोग नभएको गुनासो गर्दै उनले त्यसो भएमा उत्पादन बढाउन  सहज हुने बताइन् ।

चैते धानबाट प्रशस्त आम्दानी हुने भएपछि आफूलगायत गाउँका अधिकांश किसानले चैते धान लगाउँदै आएको उनी बताउँछन् । वर्षमा दुई बाली धान खेती गर्ने स्थानीयवासीले बर्खेभन्दा चैते धानबाट धेरै आम्दानी गर्ने  गहतेरा निवासी चूर्ण डाँगी बताउँछन् । चैते धान प्रवर्द्धन गर्न स्थानीय वा प्रदेश सरकारले अनुदानको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ । 

कृषि ज्ञान केन्द्रका अनुसार घोराही उपमहानगरपालिका– १, बङ्गलाचुली गाउँपालिका–३ र ४ सँगै देउखुरीका केही स्थानमा चैते धान खेती हुने गरेको छ । जिल्लामा करिब दुई हजार पाँच सय हेक्टरमा चैते धान खेती हुने गरेको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्