गर्मी बढेसँगै आगलागी घटना बढ्दै

आइतबार, वैशाख ९, २०८१

सुदूरपश्चिम- कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–६ का १५ किसान परिवारको १० बिघा गहुँ खेतमा आगलागी हुँदा बाली जलेर नष्ट भएको छ । जोशीपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बाली काटेर खेतमा सुकाइ राखिएको अवस्थामा शनिबार आगलागी भएको जानकारी दिए । प्रहरी र स्थानीयवासीको प्रयासमा आगो निभाउने प्रयास गरिएको थियो ।

जोशीपुरकै एक किसानको १३ कठ्ठा क्षेत्रफलको गहुँबालीमा पनि दुई दिनअघि आगलागी भएको थियो । भजनी, बर्दगोरियालगायत क्षेत्रको गहुँबाली पनि आगलागी भएको छ । आगलागीबाट पुगेको क्षतिको थप विवरण आउन बाँकी छ ।

केही दिनदेखि गर्मीबढेसँगै मध्याह्नको समयमा चल्ने हावाहुरीका कारण आगलागिका घटना बढाउन मद्दत पुर्याइरहेको स्थानीयवासीले बताएका छन् । गहुँ काटेर खाली रहेको खेत (गहुँको नलमा) मा पनि आगलागि भइरहेको छ ।

गहुँबाली काटेर खाली भएको खेतमा लागेको आगो निभाउने क्रममा गौरीगङ्गा नगरपालिकाका वीरबहादुर शाहू जलेर घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

गर्मीसँगै वन क्षेत्रमा पनि डढेलो लाग्ने घटना बढेका छन् । अग्नि नियन्त्रण रेखा बनाएर डढेलो रोकथामको प्रयास गरिए पनि पूर्णरुपमा डढेलो नियन्त्रणमा कठिनाइ भइरहेको बताइएको छ । डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले यसपाली पर्याप्त वर्षा हुननसक्दा बढेको गर्मीसँगैको सुक्खा मौसमले डढेलोको कहर देखिएको बताए । ‘ठाउँठाउँका वन क्षेत्रमा डढेलो लाग्ने समस्या बढेको छ, निभाउने कामपनि सतर्कता अपनाई भइरहेको छ ।’ उनले भने ।

डढेलो हुननदिन डढेलो लाग्नपूर्व र डढेलो लागि सकेपछि गर्नुपर्ने सबै क्रियाकलाप गर्ने गरिएको उनले बताए । आगो लगाउँदा वनमा घाँसको नयाँ पालुवा उम्रिन्छ भन्ने कतिपय समाजमा गलत सोचाइ देखिएको र चुरोट बिडी सेवन गर्नेले यसको ठुटो जथाभाबी वनमा फ्याकिदिने गर्दा गर्मी मौसममा वन डढेलोको समस्या बढ्ने गरेको बताइएको छ ।

जिल्लाको फुलवारी, गौरीगङ्गालगायतका क्षेत्रका सामुदायिक वनमा डढेलो लागेको छ । गर्मी बढेसँगै मध्याह्नको समयमा तातो हावा (लु) चल्न थालेपछि जिल्लाको जनजीवन कष्टकर बन्न थालेको छ । हावाहुरीले धनगढीको बजार क्षेत्रमा निर्माणाधीन सडकबाट उड्ने धुलोमाटोले वरपरका व्यापारिक पसल र निजी घरधनीले हैरानी खेप्नुपरेको छ । उड्ने धुलोमाटोले सडकको आवागमन पनि असहज बनेको छ ।

स्थानीय राजेश चौधरीले गुनासो गरे । केही दिनदेखि धनगढीमा गर्मी ह्वात्तै बढेको छ । चार दिनअघि ३७ दशमलब चार डिग्रिसेल्सियस रहेको धनगढीको अधिकतम तापक्रम बढेर शुक्रबार ४० दशमलव छ डिग्री सेल्सियस पुगको थियो । यस्तै २०डिग्रीसेल्सियस निम्न तम तापक्रम बढेर २२ दशमलब छ डिग्री पुगेको थियो ।

आज अधिकतम तापक्रम र निम्न तम तापक्रम अघिल्ला दुईदिनको भन्दा केही कम मापन भएको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहले जानकारी दिए । कार्यालयका प्रमुख साहले यसवर्ष विगतको तुलनामा गर्मी बढ्ने अनुमान गरिएको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १८:३८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार