एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौँ - ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग भिड्ने भएको छ । 

नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि शुक्रबार नै आयोजक ओमान र हङ्कङबिच खेलिने छ । सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच आइतबार फाइनल खेल खेलिने छ । 

नेपालका लागि यूएई पुरानो प्रतिद्वन्द्वी हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा पनि नेपाली टोलीले यूएईलाई नै सात विकेटले हराउँदै उपाधि चुमेको थियो ।

त्यतिबेला फाइनलमा यूएईलाई हराउँदै नेपाल एसिया कपमा पनि छनोट भएको थियो । प्रिमियर कपको त्यो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो ।

नेपाल र यूएईबिच हालसम्म नौवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये पाँच खेलमा नेपाल र चार खेलमा यूएई विजयी भएका छन् । घरेलु मैदानमा नेपालले तीन र यूएईले एक खेल जितेका छन् । 

प्रतिद्वन्द्वीको घरेलु मैदानमा नेपालले दुई र यूएईले एक खेल जितेका छन् । ‘न्यूट्रल भेन्यू’ मा भने यूएईले दुई खेल जितेको छ । 

नेपाली टिम स् रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्