विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पेस हुन सक्दैन : मुख्यमन्त्री कार्की

बुधबार, वैशाख ५, २०८१

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पेस हुन नसक्ने दाबी गरेका छन् ।

मुख्यमन्त्री कार्कीले बुधबार सभामुख अम्बरबहादुर बिष्टलाई लिखित पत्र पठाएर प्रदेश सभामा दर्ता भएको संकल्प प्रस्ताव संविधानविपरीत भएको दाबी गरेका छन् । प्रदेश सभाको विशेष अधिवेशन पर्सि शुक्रबार बोलाइएको छ, जहाँ विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने संकल्प प्रस्ताव पास गर्ने तयारी छ ।

नेकपा एमाले र माओवादी केन्द्रले २६ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख परशुराम खापुङसक्षम समावेदन दिए । प्रदेश प्रमुखले विशेष अधिवेशन ६ वैशाखका लागि तोकेका छन् भने ३ वैशाखमा विशेष अधिवेशनका लागि संकल्प प्रस्ताव दर्ता गराएका छन् ।

एमाले प्रमुख सचेतक रेवितीरमण भण्डारी प्रस्तावक र गणेशप्रसाद उप्रेती र किशोरचन्द्र दुलाल समर्थक रहेको संकल्प प्रस्तावमा मुख्यमन्त्री कार्कीले बहुमत सदस्यको समर्थन गुमाइसकाले आगामी २५ वैशाखभित्र प्रदेश सभा आह्वान गरेर विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने उल्लेख छ ।

मुख्यमन्त्री कार्कीले २५ वैशाखभित्र विश्वासको मत नलिए वा राजीनामा नदिएमा त्यसपछिका दिनमा प्रमुख सचिव र सचिवहरूले मन्त्रिपरिषद्, मुख्यमन्त्री र मन्त्रीहरूको कुनै पनि निर्णय र निर्देशन कार्यान्वयन गर्न बाध्य नहुने समेत उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्