मधेश सरकारबाट बाहिरियो लोसपा, वनमन्त्री कुर्मीले दिए राजीनामा

मंगलबार, वैशाख ४, २०८१

जनकपुर- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।

मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो ।

योसँगै लोसपाबाट वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।

मधेश प्रदेशसभामा लोसपाका ९ जना सांसद छन् । १०७ सदस्यीय प्रदेश सभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९-९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टी (नाउपा), राप्रपा, संघीय समाजवादी पार्टीका एक-एक र एक स्वतन्त्र सांसद छन् ।

मधेशमा बहुमतको लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्