झापामा गोली हानेर लागूआ‍ैषध कारोबारी नियन्त्रणमा

सोमबार, वैशाख १७, २०८१

झापा- झापामा प्रहरीले सोमबार एक लागु औषध कारोबारीमाथि गोली प्रहार गरेको छ । नियन्त्रणमा लिने क्रममा ती कारोबारीले प्रहरीमाथि नै खुकुरीले आक्रमण गर्न खोजेपछि गोली प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका हुन् ।

गोली प्रहारबाट झापा गाउँपालिका–४ खैरबारी बस्ने २५ वर्षीय सरिफूल आलम घाइते भएका छन् । उनको बायाँ खुट्टाको तिघ्रा र पिँडुलामा दुई राउन्ड गोली लागेको छ । आलमलाई नियन्त्रणमा लिएर उपचारको लागि भद्रपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको छ ।

उपरीक्षक चन्दका अनुसार झापा गाउँपालिका–३ कामाटोलीस्थित अक्कलबहादुर विश्वकर्माको घरको तेस्रो तल्लामा लागु औषध कारोबार भइरहेको गोप्य सूचना प्राप्त गरेको थियो । सोही सूचनाको आधार जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो काकारभिट्टाबाट खटिएको संयुक्त टोली साँझ करिब ६ बजे त्यहाँ पुगेको थियो ।

प्रहरीले आलमको साथबाट ११६ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, दाउ एक थान र खुकुरी एक थान बरामद गरेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २१:३२
प्रतिक्रिया दिनुहोस्