कांग्रेस-एमाले मिलेर साना दोकान बन्द गरौँ : गगन थापा

मंगलबार, वैशाख ४, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सृजना गर्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत धनगढीमा रेशम रन्जिता विवादलाई सङ्केत गर्दै उनले साना पार्टीका कारण घर झगडा बढिरहेको भन्दै उनले त्यस्तो बताएका हुन् ।

‘पार्टीका कारण घर झगडा बढिरहेको छ । साना दोकानहरू बन्द गराउनुपर्ने अवस्था छ’ उनले भने। थापाले नेपाली कांग्रेसले आगामी एक वर्ष सम्म सरकारमा जान नहुने बताए । ‘२०८१ साल भरि सिंहदरबारतिर फर्केर नहेरौँ । बालुवाटार तिर पनि फर्केर नहेरौँ’ उनले भने । थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एमालेले पनि गर्न नहुने बताए ।

‘चुनाव अगाडिको गठबन्धन असफल भयो । अब नेपाली कांग्रेसले त गर्दै गर्दैन । अब नेकपा एमालेले पनि गर्दैन ’ उनले भने, ‘अब निर्वाचन प्रणाली बदल्नु पर्छ त्यसको लागि कांग्रेस र एमाले मिल्नु पर्छ । ’ गठबन्धन नगर्ने नीति लिँदा गुटबन्दी पनि अन्त्य गर्नुपर्ने उनले बताए । उनले सरकारमा जाँदा होस् या मन्त्री बन्दा गुट बलियो बनाउने गरी लागेको आरोप लगाए ।

‘हाम्रो सदस्यता वितरणबाटै गुटबन्दी सुरु हुन्छ, ’उनले भने, ‘कांग्रेसको सदस्य बन्न कसैलाई रोक्नु हुँदैन ।’सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुन आवश्यक रहेको थापाले जोड दिए । पूर्वी नेपालबाट सुरु भएको समुदायका कांग्रेस अभियान कञ्चनपुरमा आज सकिँदै छ । कञ्चनपुर पुग्नु अघि धनगढीमा आयोजना गरी यहाँबाट फर्किएपछि रिपोर्ट तयार गर्ने बजेट बनाउँदा पहल गर्ने थापाले बताए । उनले पार्टीको एजेन्डा विकास र सुशासन रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्