सामाजिक विकास कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मंगलबार, वैशाख ४, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

ठूलीभेरी नगरपालिका-३ दुनै, डोल्पामा खेलकुद मैदान निर्माणको लागि कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको अख्तियारको दाबी छ ।

अख्तियारले कार्यालय प्रमुख आचार्यसहित सब–इन्जिनियर मोतीप्रसाद बुढा र डीपीआर सम्पन्न भएको जिल्लास्थित कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समिति दुनै डोल्पाका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीलाई पनि प्रतिवादी बनाएको छ ।

खेल मैदान निर्माणका क्रममा २०७६-०७७ मा लागत अनुमान र सम्झौता उल्लिखित कामभन्दा फिल्डमा भएको कामभन्दा बढी ९ लाख ९३ हजार ९ सय ४० रुपैयाँ बराबरको झुट्टा बिल भरपाई बनाइ गैरकानुनी लाभ र हानी पुर्‍याउने बदनियतले भुक्तानी दिने/लिने काम गरी भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

उनीहरूविरुद्ध ९ लाख ९३ हजार ९४० रुपैयाँ बिगो र जरिवाना माग दाबी गरिएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्