नेपाललाई हङकङले दियो १ सय १५ रनको लक्ष्य

सोमबार, वैशाख ३, २०८१

काठमाडौँ- ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ ।

अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस हारेर ब्याटिङ गरेको हङकङ १७ ओभर ५ बलमा १ सय १४ रनमा अल आउट भयो । हङकङका यान्शे रथले सबैभन्दा धेरै ३४ रन बनाए । नेपालका अविनाश बोहराले ३, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २ तथा करण केसीले १ विकेट लिए । वर्षाका कारण खेल प्रभावित भएपछि १८ ओभरमा झारिएको थियो ।

दुई खेलमा दुवै खेल जितेको नेपाल समूह ‘ए’ को अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ चौथो स्थानमा छ ।

प्रतियोगितामा अहिले समूह ‘ए’ कै मलेसिया र कतार खेलिरहेका छन् । त्यस्तै आजै समूह ‘बी’ अन्तर्गत ओमान र युएई तथा बहराइन र कुवेत खेल्दैछन् ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्