इरान र रुसको ‘आतङ्कवाद’ विरुद्ध संयुक्तरूपमा विश्वव्यापी प्रतिक्रिया दिन जेलेन्स्कीको आग्रह

आइतबार, वैशाख २, २०८१

एजेन्सी - युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार इजराइलमाथि तेहरानको आक्रमणको निन्दा गरेका छन् । उनले रुस र इरानको ‘आतंकवादी’ हमलाका लागि संयुक्तरूपमा विश्वव्यापी प्रतिक्रिया दिन आग्रह गरेका छन् ।

“इरानको कारवाहीहरू पूरै क्षेत्र र संसारलाई खतरा हो, जस्तो रुसको कारवाहीबाट ठूलो सङ्घर्षको खतरा छ”, सामाजिक सञ्जाल एक्समा उनले भनेका छन्, “आतङ्कवाद फैलाउनमा दुवै शासनबीचको स्पष्ट सहयोगले संसारबाट दृढ र एकजुट प्रतिक्रियाको सामना गर्नुपर्छ, युक्रेन शाहिद ड्रोन र मिसाइलमार्फत इजराइलमाथि इरानको आक्रमणको निन्दा गर्दछ ।”

रुसले युक्रेनविरुद्ध युद्धमा ठूलो सङ्ख्यामा इरानी ड्रोनको प्रयोग गरेको छ तथा जेलेन्स्कीले युक्रेन र इजराइलको अनुभवलाई जोडेका छन् । “हामीले युक्रेनमा रुसले गरेको यस्तै प्रकारको आक्रमणहरूको भयावहतालाई राम्रोसँग जानेका छौँ, रुसले पनि उस्तै हवाई हमलाको रणनीतिमार्फत समान ‘शाहिद’ ड्रोन र रुसी मिसाइलहरूको ठूलो मात्रामा प्रयोग गर्दछ ।”

युक्रेनमा धेरै मानिसले मिसाइल र ड्रोन हमलालाई रोक्ने अन्तर्राष्ट्रिय प्रयासहरूलाई उद्धृत गर्दै शनिबार इजराइलका लागि आएको पश्चिमी समर्थन युक्रेनका लागि आएको समर्थनभन्दा धेरै भएको गुनासो गरेका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ‘ठोस सहायता’ ले मात्र मिसाइल र ड्रोन हमलालाई रोक्न सक्ने बताए । साथै उनले युक्रेनका लागि अमेरिकी युद्ध सहायता जारी राख्न अपिल गरे । अमेरिकी कांग्रेसमा लामो समयदेखि उक्त सहायता प्याकेज रोकिएको छ ।

“अमेरिकी कांग्रेसले यो महत्त्वपूर्ण समयमा अमेरिकाका सहयोगीहरूलाई बलियो बनाउनका लागि आवश्यक निर्णय लिनेछ भन्ने महत्त्वपूर्ण छ”, उनले भने ।
एएफपी

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  २१:३२
प्रतिक्रिया दिनुहोस्