सगरमाथाको अंग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव

आइतबार, वैशाख २, २०८१

काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि ‘SAGARMATHA’ नै राख्न सरोकारवाला विज्ञहरुले सुझाव दिएका छन्। सगरमाथालाई अङ्ग्रेजीमा ‘माउन्ट एभरेष्ट’ उल्लेख गर्ने गरिएकोप्रति विज्ञहरुले सो सुझाव दिएका हुन्।


इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनीहरुले नेपालका अन्य हिमालको नाम नेपालीकरण मात्र रहेकोजस्तै सगरमाथाको नाम पनि एउटै हुनुपर्ने तर्क गरे।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं इतिहासविद् प्रा डा त्रिरत्न मानन्धरले इतिहास शिरोमणि आचार्यले सगरमाथाको नाम चिनाएको ऐतिहासिक तथ्यबारे जानकारी गराएका थिए। इतिहास शिरोमणि आचार्यले सर्वप्रथम विसं १९९५ मा लेखमार्फत सर्वोच्च शिखरको नाम सगरमाथा हो भनी उल्लेख गरेका थिए।

प्रा डा मानन्धरले भने,’सगरमाथाको नाम अंग्रेजीमा पनि सगरमाथा नै उल्लेख गर्दा सुरुमा केही अफ्ठ्यारो हुने अवस्था आएमा सगरमाथासँगै कोष्ठभित्र ‘माउन्ट एभरेष्ट’ राख्न सकिन्छ तर मौलिक नाम सगरमाथा भने छुटाउनु हुँदैन।’ यस सम्बन्धमा निकट भविष्यमै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएर सुझाव दिने उनले बताए।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्