संसद बन्द गरेर सरकार भागेको कांग्रेसको निचोड, गृहमन्त्रीमाथि छानबिनको माग अझ बलियो बनाइने

आइतबार, वैशाख २, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गठन गर्नुको साटो सदन बन्द गरेर सरकार भागेको निचोड कांग्रेसले निकालेको छ।

आइतबार प्रतिनिधि सभा बैठक बस्नुअघि राखिएको संसदीय दलको बैठकले यस्तो निचोड निकालेको हो। बैठकले कांग्रेसको माग अझ बलियो बनाउने पनि निर्णय गरेको एक नेताले बताए। 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सदन बन्द गरेर सरकार तानाशाही बाटोमा हिँडेको बताए। उनले भने,‘हामीले संसदीय छानबिन समितिको माग गर्दा सरकार डराएर भाग्यो, सदन अन्त्य गर्ने निर्णयमा पुग्यो, जवाफदेहिताबाट भाग्यो।’

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको नाम मुछिएको भन्दै कांग्रेसले समितिको माग गर्दै आएको थियो। सदन अवरुद्ध हुन थालेपछि सरकारले आइतबार मध्यरातबाट हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई मन्त्रिपरिषदको सिफारिस पठाएको थियो।
 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्