बालेनले ल्याए श्रम अफर, सीप तालिम दिएर नयाँ बर्षमा २०८१ जनालाई रोजगारी

शनिबार, वैशाख १, २०८१

काठमाडौ -काठमाडौ महानगर प्रमुख बालेन शाहले श्रम तर्फ सुनौलो अवसरको घोषणा गरेका छन्। नयाँ बर्षमा महानगरका तर्फबाट तालिम दिएर कम्तिमा २०८१ जनाका लागि रोजगारीको अवसर प्रदान गरिने बालेनले घोषणा गरेका हुन्।

एक सन्देशमार्फत उनले नयाँ बर्ष २०८१ को शुभकामनासहित यस्तो अवसरबारे जानकारी दिएका हुन्।

महानगरले  १५००० जना बेरोजगार युवाहरुलाई सीपमुलक तालिम प्रदान गरी कम्तिमा ५००० जनालाई रोजगार/स्वरोजगार बनाउने उद्देश्य सहित यस आर्थिक बर्षको बार्षिक बजेट तथा कार्यक्रममा महानगर गौरब योजनाको रुपमा “रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि “ आयोजना सुरूवात गरेको हो । 

साथै सीपयुक्त जनशक्तिलाई रोजगारको अवसर सृजना गर्न श्रम बैंक स्वर्णिम योजना समेत सञ्चालनमा रहेको छ। यी आयोजना अन्तर्गत हालसम्म हामीले करिब ५००० जनालाई सीपमूलक तालिम प्रदान गरीसकेको छ भने करिब ६०० जनालाई प्रत्यक्ष रोजगार र १००० भन्दा बढीलाई अप्रत्यक्ष रोजगारीको अवसर प्राप्त भएको महानगरका प्रमुख बालेन्द्र शाहले बताए ।

 नेपालमा बेरोजगारी समस्या युवाहरूको प्रमुख चुनौती बनेको छ । बजारमा सीपयुक्त जनशक्तिको माग र आपूर्ति बीच ठुलो खाडल छ । एकातिर रोजगारदाताले सीपयुक्त जनशक्ति नपाएको र अर्कोतिर युवाहरुले योग्यता अनुसारको रोजगार नपाएको गुनासो पनि छ । 

रोजगारदाताको आवश्यकता र बजार उन्मुख सीप हासिल गरेको दक्ष जनशक्ति निर्माण गर्न बजारमा खपत हुने किसिमको व्यावसायिक तालिमको आवश्यकता महशुस गरी यी परियोजना सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । 

सीप विकासलाई थप आकर्षित र अभियानको रूपमा अगाडी बनाउन काठमाडौँको टुँडिखेलमा यहि नयाँ बर्ष २०८१ बैशाख १९ गते अर्थात मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनबाट सुरु हुनेगरी २०८१ जना बेरोजगार युवाहरुलाई सीप सिकाएर रोजगार/स्वरोजगार बनाउने उद्देश्य सहित “सीप मेला -२०८१” सञ्चालन गर्ने भएको छ । जसमा महानगरमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने महानगरबासीहरू, ल्याण्ड फिल साइट प्रभावित क्षेत्रका बासिन्दा,फरक क्षमता भएका व्यक्ति र हिजोका दिनमा गैर कानुनी रुपमा फुटपाथ/सडक/ठेलामा ब्यापार व्यवसाय गरेका व्यक्तिहरुलाई प्राथमिकतामा राखी सम्पूर्ण नेपाली नागरिक सहभागी हुनसक्ने गरी यो सीप मेला सञ्चालन गर्ने महानगरले जनाएको छ । 

 यस सीप बिकास तालिममा सहभागी हुनका लागि तलको लिंकमा क्लिक गरी तोकिएका कागजात र विवरण अपलोड गरी २०८१ बैशाख १५ भित्र आवेदन दिनुहुन सवैमा जानकारी गराउँदछौ। 
आवेदनका लागि लिंक : https://shorturl.at/byCQ9 
तालिम तथा कार्यक्रमको थप जानकारीको लागि महानगरको कलसेन्टरको टोल फ्री नम्बर ११८० मा सम्पर्क गर्न सक्नुहुनेछ। 
रोजगार र श्रम बजारलाइ प्रबर्द्धन गर्नु सरकारी, गैरसरकारी तथा निजी क्षेत्र सहित सबैको साझा दायित्व हो भन्ने हाम्रो बुझाइ हो। यो कार्यक्रम पूर्णरुपमा सरकारी , गैर सरकारी,निजी संघसंस्था , दातृ निकायहरु सँगको सहकार्यमा सञ्चालन गर्ने भएको छ । इच्छुक व्यक्ति वा संघसंस्थाले सहकार्यका लागि तल दिइएको लिंकमा गई फारम भरी सहभागी हुन सक्नुहुनेछ ।सहकार्यका लागि लिंक : https://forms.gle/48pixnsTk2hSrpWt8
साथै सहकार्यको थप जानकारीका लागि कमलादी, काठमाडौँ प्लाजास्थित ५ औँ तलामा सीप मेला -२०८१ को सचिवालय वा 985-1102585 मा सिधै सम्पर्क गर्न सक्नुहुनेछ।

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्