सवारी कर्जामा बैंकहरुले गरे ८ महिनामा १ खर्ब १६ अर्ब लगानी

बिहीबार, चैत २९, २०८०

काठमाडौँ- चालु आर्थिक वर्षको ८ महिनामा बैंकहरुले सवारी कर्जामा मात्र १ खर्ब १६ अर्ब भन्दा बढी लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको फागुन महिनाको वित्त रिपोर्ट अनुसार वाणिज्य बैंकहरुले हायर पर्चेज कर्जाको शीर्षकमा १ खर्ब १६ अर्ब १८ करोड ५० लाख रुपैयाँ लगानी गरेका हुन् ।

यो अघिल्लो माघ महिनामाको तुलनामा ३.८५ प्रतिशतले बढी हो । माघ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले हाइयर पर्चेज कर्जामा कूल १ खर्ब ११ अर्ब ८७ करोड ७० लाख रुपैयाँ लगानी गरेका थिए ।

तथापि, अघिल्लो आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मा बैंकहरुले यस्तो शीर्षकमा १ खर्ब ३१ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । पछिल्लो ८ महिनामा नै सवा खर्ब भन्दा बढी लगानी भएको स्थितिमा यो वर्ष लगानीको अभावमा बैंकहरु सवारी कर्जातर्फ आकर्षित भएको देखिन्छ । अझ बढी बैंकहरु विद्युतीय सवारीतर्फ आकर्षित भएका छन् ।

घरजग्गा र सेयर धितो कर्जामा लगानी घट्यो k समीक्षा अवधिमा घरजग्गा र मार्जिन प्रकृतिको सेयर धितो कर्जामा भने बैंकहरुको लगान केही घटेको देखिन्छ । केन्द्रीय बैंकको रिपोर्ट अनुसार अघिल्लो फागुन महिनामा नै २ खर्ब ८२ अर्ब बढी कर्जा लगानी भइसकेको घरजग्गा तथा रियल स्टेट क्षेत्रको लगानी पछिल्लो फागुन महिनामा घटेर २ खर्ब ८१ अर्बमा झरेको छ ।

मौद्रिक नीतिको समीक्षामार्फत यस्तो क्षेत्रमा जाने कर्जाको जोखिमभार घटाउँदै २ करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेपनि यस क्षेत्रमा खासै आकर्षण नदेखिएको हो । यस्तै, केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको केही सीमा वृद्धि गर्दै जोखिमभार घटाउँदा पनि यस क्षेत्रमा समेत कर्जाको माग बढ्न नसकेको रिपोर्टले देखाएको छ ।

फागुन मसान्तसम्म सेयर धितो कर्जामा वाणिज्य बैंकहरुले जम्मा ५७ अर्ब ८१ करोड रुपैयाँ मात्र लगानी गरेका छन् । बरु अघिल्लो माघ महिना यस्तो कर्जा ५८ अर्ब १० करोड माथि प्रवाह भएको थियो ।

आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितोकर्जाको १२ करोडको सीमा परिमार्जन गर्दै २० करोड रुपैयाँ पुर्‍याइदिएको थियो । यस्तै, १५० प्रतिशतसम्म रहेको सेयर धितोकर्जाको जोखिम भार समेत घटाएर १२५ प्रतिशतमा झारिदिएको थियो । तरपनि बजारको शिथिलताका कारण लगानीकर्ताहरू आकर्षित हुन नसक्दा लगानी अपेक्षित रूपमा बढ्न नसकेको हो ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्