गाजा युद्धको ६ महिनापछि युद्धविराम प्रस्तावको अध्ययन गर्दै हमास

मंगलबार, चैत २७, २०८०

दक्षिणी गाजामा फर्केका प्यालेस्टिनीहरूले इजराइली सैनिकहरूको फिर्तीपछि बाँकी रहेको विनाशको सीमाको सामना गरेको भन्दै हमासले कायरोमा भएको पछिल्लो चरणको प्रस्तावित युद्धविरामको नयाँ रूपरेखाबारे विचार गरिरहेको मङ्गलबार बताएको छ ।

सबैभन्दा रक्तपातपूर्ण गाजा युद्धको छ महिनापछि कतार, इजिप्ट र अमेरिकाका मध्यस्थकर्ताहरूले अर्को अस्थायी युद्धविरामको प्रस्ताव राखेको हमासको एक स्रोतले बताएको छ । तीन भागको प्रस्तावले इजराइलमा प्यालेस्टिनी कैदीहरूका लागि हमासले कब्जामा राखेका बन्धकहरूको आदानप्रदानको सुविधा प्रदान गर्न छ साताका लागि लडाइँ रोक्नेछ ।

मध्यस्थकर्ताहरूको प्रयासको ‘प्रशंसा’ गर्दै हमासले मङ्गलबार वार्ताका क्रममा इजराइलमाथि आफ्नो कुनै पनि मागको जवाफ नदिएको आरोप लगाएको छ । “यस्तो अवस्था भए पनि आन्दोलनको नेतृत्वले प्रस्तावको अध्ययन गरिरहेको छ”, हमासले एक विज्ञप्तिमा भनेको छ ।

महिनौँको भीषण लडाइँपछि इजराइलले सप्ताहन्तमा दक्षिणी सहर खान युनिसबाट आफ्नो सेना हटाएको घोषणा गरेको छ । रफाहमा घुसपैठसहित युद्धको अर्को चरणको तयारीमा सैनिकहरूलाई मद्दत होस् भनेर सेना हटाएको उसले बताएको छ ।

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार अब गाजा क्षेत्रको सबैभन्दा दक्षिणी सहरमा स्थल सेना पठाउने मिति तय गरिएको बताएका थिए । उक्त सहरमा अधिकांश विस्थापित प्यालेस्टिनी बस्छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार