निजी र महँगा किताब किनाउने काठमाडौं महानगरका स्कुललाई बालेनको झड्का

शुक्रबार, चैत २३, २०८०

काठमाडौं– शैक्षिक सत्र सुरु हुनासाथ निजी कम्पनी र महँगा किताब किनाउन बाध्य पार्ने काठमाडौं महानगरपालिका भित्रका स्कुललाई मेयर बालेन्द्र साह (बालेन)को एक निर्देशनले झड्का लागेको छ। 

सामुदायिक र संस्थागत स्कुलहरूले शैक्षिक बर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी स्कुलबाटै बिक्री गर्न र किन्न बाध्य बनाउन नपाउने गरी काठमाडौं महानगरपालिकाले एक परिपत्र जारी गरेको छ। महानगरको शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गर्दै प्रचलित कानुनविपरीत नगर्न सचेत गराएको हो।  

सामुदायिक विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउने निर्देशन महानगरको छ। 

अंग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नु परेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्नेछ। यसबाहेकका पाठ्यपुस्तकका लागि महानगरपालिकाले भुक्तानी नगर्ने परिपत्रमा उल्लेख छ। 

संस्थागत विद्यालयले पनि पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्न गराउनु पर्ने महानगरले जारी गरेको परिपत्रमा भनिएको छ। 

‘विद्यालयहरुले यसविपरीतका कार्य (स्वीकृत पाठ्य सामग्री प्रयोग नगरेमा, पोसाक, स्टेशनरीलगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकहरुलाई बाध्य गराएमा) शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ’, परिपत्रमा उल्लेख छ ।

हेर्नुहोस् परिपत्र
metro-bigyapti-1712293327.jpg

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्