तनहुँका मकैबारीमा फौजी कीराको समस्या

बिहीबार, चैत २२, २०८०

दमौली - जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा मकैमा फौजी कीरा लागेको पीडित किसानले बताएका छन्  । ढापटारका किसानले लगाएको मकैमा फौजी कीराको समस्या भएको हो । 

फौजी कीराले मकैमा क्षति भएको  स्थानीय किसान लक्ष्मण थापा क्षेत्रीले जानकारी दिए । फौजी कीराले मकैका पात, गुभोमा क्षति पुगेको उनले बताए । उनले भने, “यस क्षेत्रको करिब ४५ रोपनी क्षेत्रफलमा फौजी कीराको समस्या देखिएको छ, गाउँपालिकाको सहयोगमा विषादी  प्रयोग पनि भएको छ ।”

आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले प्राविधिकको टोलीले बारीमै पुगेर विषादी छरिएको जानकारी दिए । उनले भने, “हालसम्म गाउँपालिकाको वडा नम्बर २ ढापटारमा समस्या देखियो, जानकारी पाउनेबित्तिकै हामीले कीटनाशक औषधि छरेर  किसानलाई यसबारेमा सचेत पारेका छौँ ।” विषादी प्रयोगबारे जानकार किसानले रोग नियन्त्रण गरिरहेका छन् । 

रोग नियन्त्रणका लागि जैविक विषादी झोल (निम, खुर्सानी, तितेपानी, लसुन, असुरो) प्रयोग गर्न सकिने केसीले बताए । मसिनो माटो, बालुवा, काठको धुलो, खरानी हालेर पनि कीरा नियन्त्रण गर्न सकिने उनले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्