जितपछि सुहाङले भने- मुलुकलाई समृद्धिको बाटोमा लैजाने ऐतिहासिक जिम्मेवारी पाएको छु

मंगलबार, वैशाख १८, २०८१

इलाम- इलाम-२ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका एमालेका नेता सुहाङ नेम्बाङले सप्तरङ्गी समाजको शक्तिलाई थप बलियो र दरिलो बनाएर समृद्धिको बाटोमा मुलुकलाई लैजाने ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्ने बताएका छन् । 

मंगलबार बिहान शुभेच्छुक, पार्टीका प्रतिनिधि र मतदाताहरूलाई धन्यावाद ज्ञापन गर्दै उनले भनेका छन्,‘हाम्रो समाज इन्द्रेणी जस्तै धेरै रङ मिलेर बनेको छ । सात रङ मात्रै मिलेको इन्द्रेणी त त्यति राम्रो छ, अझ हाम्रो देश त सयौँ जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका जनता मिलेर बनेको छ । हाम्रो राष्ट्रगानले भने जस्तै यो सयौँ थुङ्गा फूलहरू मिलेर बनेको माला जस्तै छ । यो विविधता हाम्रो सम्पदा हो, हाम्रो शक्ति हो । विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति, अजस्र शक्ति र सामर्थ्य हो । इलामको निर्वाचनमा यही भावना प्रतिबिम्बित भएको मैले पाएको छु । हाम्रो सप्तरङ्गी समाजको शक्तिलाई थप बलियो र दरिलो बनाएर समृद्धिको बाटोमा मुलुकलाई लैजाने ऐतिहासिक जिम्मेवारी हाम्रो हो ।’

उम्मेदवार बन्दै गर्दा आफ्नो जिन्दगीको उर्वर समय पार्टीको विकास, विस्तार र आन्दोलनका लागि खर्चिनुभएका नेताहरूको भावनालाई शिरमा राख्ने उनले सङ्कल्प गरेका छन् ।

नेम्वाङ काँग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ३० मतले उछिन्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन । नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा काँग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन ।

यस्तै पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत ल्याएका छन । उपनिर्वाचनमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

(विजयी नेम्वाङले सामाजिक सञ्जालमा व्यक्त गरेको विचार)

हार्दिक आभार तथा धन्यवाद । 

अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू । 

इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा आफ्नो अमूल्य मत दिएर अत्याधिक मतले विजय गराउनुभएकोमा इलाम–२ का अति आदरणीय मतदाताहरूप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । हजुरहरूको मनमा रहेको हामीप्रतिको अगाध माया, गहिरो विश्वास र भरोसालाई मतमा परिणत गरेर आफ्नो प्रतिनिधिको रूपमा मलाई छनोट गर्नुभएको छ ।  

हाम्रा अग्रजहरूले गर्नुभएको कष्टसाध्य संघर्ष, बलिदान र असाधारण त्यागको जगमा आज हामी उभिएका छौँ । इलामको माटोमा जन्मिएर पञ्चायती व्यवस्थाविरुद्ध देशभरी क्रान्तिको उज्यालो फैलाउने आदरणीय शहीदहरू रत्नकुमार वान्तवा, बमप्रसाद वान्तवाप्रति हार्दिक श्रद्धा९सुमन व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणको नेतृत्वकर्ता इलामेली जनताका प्रिय नेता मेरो बुवा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धा–सुमन व्यक्त गर्दछु । 

सर्वप्रथम उहाँले देखाउनुभएको निष्ठाको बाटो र दिएर जानुभएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलाम स्  सुखी इलामेली’ हाम्रो साझा सपना र सङ्कल्प पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । इलामको माटोको कसम खाएर म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’

तपाईँ हामीलाई थाहा छ, परिवर्तनको आन्दोलनमा इलामेली अग्रजहरूले गौरवमय इतिहास निर्माण गर्नुभएको छ । उहाँहरूको नाम लिँदा सबैको शिर श्रद्धाले झुक्छ । हाम्रो छाती गर्वले चौडा हुन्छ । यही गरिमा र गौरवलाई पछ्याएर हामीले समृद्धिको महाअभियानमा उज्यालो इतिहास निर्माण गर्नु छ । मैले अभियानको दौरानमा हजुरहरूसँग भनेको थिएँ, ‘वैशाख १५ गते इलामको समृद्धिको नयाँ अध्याय आरम्भ गर्ने दिन हो । मलाई एक पटक विश्वास जित्ने मौका दिनुहोस् ।’ हो, त्यो मौका दिनुभएको छ । अब समृद्धिको नयाँ अध्याय सुरु भएको छ । 

‘मकै गोड्ने, चिया टिप्ने, तरकारी रोप्न, अलैँची स्याहार्ने’ अनेकन कामलाई थाँती राखेर निर्वाचन अभियानमा अहोरात्र खट्नुभएका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु । घर–दैलोको क्रममा वृद्ध आमाबुवाहरूले दिनुभएको आशीर्वादलाई शिरमा सजाएको छु । कलिला नानी बोकेर घर–दैलो गर्नुहुने आमा दिदीबहिनीहरू, भविष्यप्रतिको उज्यालो आशासहित अहोरात्र निर्वाचनमा खट्नुभएका इलामेली नौजवान साथीहरूको समर्पण र साथ अवर्णनीय छ । ‘अल द वेस्ट सुहाङ दादा’ भन्दै मसँग झुम्मिने कलिला नानीहरूका आँखामा प्रतिविम्बसित निश्छल माया मनभरी सजाएको छु । समयको सीमाले कति ठाउँमा पुग्न सकिनँ । अभियानको क्रममा भेट्न नसके पनि आँखा रसाउने गरी पठाउनु भएको भिडियो शुभकामना र सन्देशहरूले भावुक र अवाक बनाएको छ । सबैलाई एकमुष्ट धन्यवाद भन्छु । ती सबै भिडियो सन्देश, शुभकामनाहरू मसँग सुरक्षित छन् । तपाईँहरूसँग सकेसम्म छिट्टै भेट्ने बाचा पनि गदर्छु । 

मेरो हात समाएर ‘बाबु, अब युवाहरू तयार हुनुपर्छ । अब तिमी इलामेली जनताको सेवाको लागि तयार हुनुपर्छ’ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु । 

नेकपा (एमाले) इलाम जिल्ला कमिटीका आदरणीय नेतृत्वगण, इलामका सबै आदरणीय नेता कमरेडहरूप्रति आभारी छु । इलामबाट राष्ट्रिय सन्देश प्रवाह गर्ने गहिरो सङ्कल्पका साथ अहोरात्र खट्नुहुने नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी, नेपाल परिवार दलका आदरणीय नेता तथा कार्यकर्ताहरूप्रति आभार व्यक्त गर्दछु । 

म उम्मेदवार बन्दै गर्दा आफ्नो जिन्दगीको उर्वर समय पार्टीको विकास, विस्तार र आन्दोलनका लागि खर्चिनुभएका इलामका आदरणीय नेताहरूको भावनालाई शिरमा राखेको छु । उहाँहरूको कष्टसाध्य संघर्ष, अभूतपूर्व त्याग र असाधारण योगदानप्रति सधैँ नतमस्तक छु । उहाँहरूप्रति असाध्यै ऋणी छु । 

हाम्रो सपना र सङ्कल्पलाई जनताका बिचमा प्रवाह गरिदिनुहुने सबै सञ्चारकर्मीहरू, निर्वाचन सम्पन्न गराउने कार्यका लागि मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षाकर्मीहरू र कर्मचारी मित्रहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।

गएको एक महिनायता सफलताको सङ्कल्प बोकेर निर्वाचनमा खटिने पार्टी कमरेडहरू, मत दिनकै लागि प्रवास, काठमाडौँदेखि समेत आइपुग्नुभएका प्रियजनहरूप्रति कृतज्ञ छु ।  स-शरीर इलाम उपस्थित हुन नसके पनि प्रवास र देशभरिबाट विभिन्न माध्यमबाट मलाई शुभकामना व्यक्त गर्नुहुने एवं प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु । 

अन्तमा, फेरि पनि भन्छु, ‘हाम्रा अग्रजहरूले परिवर्तनको आन्दोलनमा गौरवमय इतिहास निर्माण गर्नुभएको छ । त्यही गरिमा र गौरवलाई बचाइराख्दै अब समृद्धिको अभियान सुरु गर्नेछौँ ।’ 

हाम्रो समाज इन्द्रेणी जस्तै धेरै रङ मिलेर बनेको छ । सात रङ मात्रै मिलेको इन्द्रेणी त त्यति राम्रो छ, अझ हाम्रो देश त सयौँ जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका जनता मिलेर बनेको छ । हाम्रो राष्ट्रगानले भने जस्तै यो सयौँ थुङ्गा फूलहरू मिलेर बनेको माला जस्तै छ । यो विविधता हाम्रो सम्पदा हो, हाम्रो शक्ति हो । विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति, अजस्र शक्ति र सामर्थ्य हो । इलामको निर्वाचनमा यही भावना प्रतिबिम्बित भएको मैले पाएको छु । हाम्रो सप्तरङ्गी समाजको शक्तिलाई थप बलियो र दरिलो बनाएर समृद्धिको बाटोमा मुलुकलाई लैजाने ऐतिहासिक जिम्मेवारी हाम्रो हो । 

इमान र निष्ठाको साथ मन, वचन र कर्मले लाग्ने वाचाको साथ फेरि पनि सबैप्रति आभार र धन्यवाद !

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्