न्यायाधीश भुवन गिरी सर्वोच्चबाटै गिरफ्तार

बुधबार, चैत २१, २०८०

काठमाडौँ - सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोपमा  थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएसँगै न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् ।
उनलाई आज अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । उनी मुद्दाको सुनवाइका लागि सर्वोच्च अदालतमा उपस्थित थिए ।

न्यायाधीश गिरीकी पत्नीले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन् । यस अघि गिरीलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएका थिए । त्यसलाई उल्टाएर सर्वोच्चले गिरीलाई फेरि थुनामा पठाएको छ ।

कपिलवस्तु जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा दिएकी आरतीले काठमाडौं जिल्ला अदालतमा बलात्कारको मुद्दा दायर गरेकी थिइन् । सम्वन्धविच्छेदको मुद्दा चलिरहेको अवस्थामा गिरीले आफूलाई कोठामै आएर रातभर बलात्कार गरेको उनको आरोप छ । उक्त मुद्दाको अन्तिम फैसला भोलि जिल्ला अदालतले सुनाउने भएको छ ।

सर्वोच्च अदालतमा आज मुद्दाको सुनवाइ हुँदै गर्दा आरतीले विष सेवन गरेकी थिइन् । उनलाई तत्काल वीर अस्पताल पुर्याइएको थियो । अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य परिक्षणबाट विष खाएको पुष्टि भएको छ । तर, शरीरमा कुनै असर नगरिसकेको स्रोतले बतायो ।

‘उहाँले थोरै मात्रामा खाएको देखिन्छ । ल्याउँदा अर्धचेत हुनुहुन्थ्यो । हामीले अहिले अब्जर्भेसनमा राखेका छौं,’ वीरका एक चिकित्सकले भने । ती चिकित्सकका अनुसार विष सेवन गरेको केसमा ४ घन्टापछि असर देखिन सक्ने भएकाले आरतीलाई डिस्चार्ज नगरिएको हो । उनको अवस्था भने अहिले सामान्य छ ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्