पूर्वन्यायाधीश गिरीकी श्रीमतीले मुद्दाको बहस चल्दाचल्दै गरिन् विष सेवन

बुधबार, चैत २१, २०८०

काठमाडौं- कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छन् ।

उनले बुधबार दिउँसो २ बजेतिर विष सेवन गरेकी हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेको बताइएको छ ।

हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको र अहिले उनी स्थिर र बोल्न नसक्ने अवस्थामा रहेकी बताइएको छ ।

आरतीले गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै आएकी छन् । उनी न्याय माग्दै लामो समयदेखि सडक संघर्षरत छिन् ।

यही मुद्दामा आज सर्वोच्चमा सुनुवाइ भइरहेको थियो । गिरीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले चैत २२ गते पक्राउ पूर्जी जारी गरेको थियो । यस्तै, जिल्ला प्रहरी परिसर, काठमाडौंले गत चैत २८ मा गिरीलाई पक्राउ गरे पनि उनी धरौटीमा रिहा भइसकेका छन् ।

आरतीले गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै आएकी छन् । यसअघि उनले सर्वोच्च परिसरमा आत्मदाहको प्रयाससमेत गरेकी थिइन् ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्