कमजोर ब्याटिङले नेपाल ए आयरल्यान्डसँग पराजित

बुधबार, चैत २१, २०८०

आयरल्यान्ड ‘ए’ ले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल कमजोर ब्याटिङले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपाल २१ रनले पराजित भएको हो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल ‘ए’ टिम २५.३ ओभरमा १३६ रन बनाउँदै अलआउट भएको नेपालका लागि देभ खनालले २६, बसिर अहमदले २० र सहाब आलमले ३७ रन बनाए ।

आयरल्यान्डका लागि लियाम म्याकार्थिले ४ र म्याथ्युले ५ विकेट लिए ।

टस हारेर बलिङमा उत्रिएको नेपालले कसिलो बलिङ गरेपछि आयरल्यान्डले अलआउट हुँदैै ३८.३ ओभरमा १ सय ५७ रन मात्र बनाउन सकेको थियो ।

आयरल्यान्डका केड कार्मिकलले ५१, कप्तान निल रकले ३९ रन बनाए । नेपालका लागि कमलसिंह ऐरीले ह्याट्रिकसहित ४ विकेट लिए । यस्तै, रिजन ढकालले १, सहाब आलमले २, मौसम ढकालले २ विकेट लिए ।

एकदिवसीय खेलमा पहिलो खेल जित्दै आयरल्यान्डले अग्रता बनाएको छ । यसअघि भएको टी–२० शृंखलामा आयरल्याण्ड ‘ए’ले नेपाल ’ए’ माथि २–१ को जितले प्रतियोगितामा कब्जा जमाएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्