गैरकानूनी रूपमा सञ्चालित संस्थाहरूको बारेमा सूचना उपलब्ध गराउन गृहको अनुरोध

शुक्रबार, चैत १६, २०८०

काठमाडौँ- गैरकानूनी रूपमा सञ्चालित संस्थाहरूको बारेमा सूचना उपलब्ध गराइदिन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । 

शुक्रवार विज्ञप्ति जारी गरेर मन्त्रालयले प्रचलित कानून बमोजिम गर्नुपर्ने कार्य नगरेका संस्थाहरूले कानून बमोजिम गर्नुपर्ने कार्य कानूनले तोकेको समय भित्रै सम्पन्न गरी आन्तरिक सुशासन कायम गर्न समेत अनुरोध गरेको छ । ‘आफ्नो समुदायमा गैरकानूनी रूपमा सञ्चालनमा रहेका, कानुन बमोजिम गर्नुपर्ने कार्य नगरेका, कानून विपरीतका कार्य गरेका, आन्तरिक सुशासन कायम नगरेका, संस्थाको सम्पत्ति निजी हितमा उपयोग गरेका संस्थाहरूको बारेमा सूचना, जानकारी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराई सहयोग गरिदिन सबै नागरिकहरूमा अनुरोध छ,’ गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रचलित कानून बमोजिम गर्नुपर्ने कार्य नगरेका संस्थाहरूले कानून बमोजिम गर्नुपर्ने कार्य कानूनले तोकेको समय भित्रै सम्पन्न गरी आन्तरिक सुशासन कायम गर्नुहुन समेत अनुरोध छ ।’

कुनै संस्थाहरूले कानून बमोजिम गर्नुपर्ने कार्य नगरेको वा प्रचलित कानून विपरीत कार्य गरेको भएमा तत्काल अनुगमन गरी प्रचलित कानून बमोजिम कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन गरिसकिएको मन्त्रालयले जनाएको छ । कतिपय संस्थाहरूले प्रचलित कानून र संस्थाको उद्देश्य विपरीतका कार्य गरेको, दर्ता नै नगरी कार्यक्रम सञ्चालन गरेको, समयमा नवीकरण नगरेको, संस्थागत सुशासन कायम नगरेको, गैरकानूनी रूपमा विदेशी सहायता लिएको, कार्यक्रम सञ्चालन गर्दा सुरक्षा सतर्कता नअपनाएको, संस्थाको नाममा रहेको सम्पत्तिको दुरुपयोग गरेको, संस्थाको सम्पत्ति सीमित व्यक्तिको हितमा उपयोग गरेको गुनासाहरू आएको मन्त्रालयका प्रवक्ता भट्टराईले बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्