पोखरामा करिब १ हजार ३६९ बालश्रमिक

शुक्रबार, चैत १६, २०८०

गण्डकी । पोखरामा करिब एक हजार तीन सय ६९ जना बालश्रमिक रहेका पाइएको छ ।

बालश्रम न्यूनीकरण सम्बन्धमा पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गतको सामाजिक विकास केन्द्रद्वारा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालले हाल केन्द्रले किडासालगायत दाताहरूको सहयोगमा बालश्रम न्यूनीकरण, जीविकोपार्जन तथा शिक्षालगायत चारवटा कार्यक्रम सञ्चालन गरिरहेको बताए।

अहिले पोखरामा करिब एक हजार तीन सय ६९ जना बालश्रमिकको पहिचान भएको बताउँदै उनले तीमध्ये पाँच सय ७२ जना विभिन्न वर्कशपमा कार्यरत रहेको जानकारी दिए ।

मोटर तथा मोटरसाइकल वर्कशपमा काम गर्ने अधिकांश बालक भारतीय रहेकाले उनीहरुलाई कामबाट छुटाउन र परिवारको जिम्मा लगाउन नसकिएको बरालले जानकारी दिए । ती बालश्रमिकलाई कार्यस्थलमै पुगेर शिक्षा प्रदान गर्ने गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्