यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

बिहीबार, चैत १५, २०८०

काठमाडौँ - सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोक्नेदेखि नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा मनोनयन गर्नेसम्मका निर्णय गरेको छ । 

बिहीवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८०-८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७०७ रुपैयाँ तोकेको हो ।

१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने सरकारले निर्णय गरेको छ ।

त्यस्तै नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा श्री ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गरेको छ ।

त्यसैगरी नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी सम्माननीय राष्ट्रपतिसमक्ष पेश गर्ने भएको छ। र आर्थिक वर्ष २०८१-८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व सात प्रदेशको लागि रु. ७७ अर्ब ५० करोड, स्थानीय तहका लागि रु. ७७ अर्ब ५० करोड र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि रु. ६० अर्ब र स्थानीय तहरुको लागि रु. ८८ अर्ब स्वीकृत गर्ने भएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्