इलाम–२ मा मिलन लिम्बू बने रास्वपाको उम्मेदवार

बिहीबार, चैत १५, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार केन्द्रीय कार्यालयमा भएको छलफलपछि लिम्बूलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको रास्वपा महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए । रास्वपाबाट ६ जना उम्मेदवारका आकांक्षी थिए ।

पत्रकार तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय महासचिव समेत रहेका लिम्बूले यही चैत ४ मा नै उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए ।

काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले ‘पार्टी होइन स्वतन्त्र, भ्रष्ट होइन इमान्दार !’ भन्ने नारासहित ‘सामाजिक न्याय, सुशासन, विकास र पहिचान’ लाई आफ्नो अभियान बनाउँदै उम्मेदवारी दिन लागेको जनाएका थिए ।

संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) नेता सुबास नेम्वाङको मृत्युपछि इलाम २ को प्रतिनिधिसभा सिट रिक्त छ, जहाँ १५ वैशाखमा उपनिर्वाचन हुँदै छ । यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्