ठमेलमा विदेशी पर्यटकले पनि मनाए होली

आइतबार, चैत ११, २०८०

काठमाडौँ- सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले पनि हर्षोल्लासका साथ होली पर्व मनाएका छन् ।

वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागुपूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन् । पछिल्लो समय नेपालमा मनाइने होली पर्व विदेशीलेसमेत मनाउने गराउने गरेका छन् ।

विदेशी पर्यटकले आज बिहानैदेखि एक अर्कासँग रङ साटासाट, नाचगानसँगै रमाइलो गरी होली मनाइरहेका छन् । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल, वसन्तपुर, दरबारमार्ग, पाटन, बौद्धलगायत क्षेत्रमा होली मनाइरहेका छन् ।

ठमेल पर्यटन विकास परिषद्ले होली विशेष कार्यक्रमको आयोजना गरेको छ । काठमाडौँ महानगरपालिका–२६ सञ्चयकोष अगाडि सडकमा साङ्गीतिक मनोरञ्जनात्मक कार्यक्रमसहित होली पर्व मनाइएको परिषद्ले जनाएको छ ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले यस्ता सांस्कृतिक पर्वमा विदेशी पर्यटकलाई सहभागी गराएर मनाउँदा नेपालको पर्यटन प्रवर्द्धन हुनुका साथै हाम्रा धार्मिक तथा सांस्कृतिक विशेषता विश्व समुदायसम्म पु¥याउन मद्दत पुग्ने बताए ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्