शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार आवश्यकः उपमहासचिव शर्मा

शनिबार, चैत १०, २०८०

खोटाङ - नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालको शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सुधार आवश्यक रहेको बताउनुभएको छ । 

पार्टी कार्यकर्ता प्रशिक्षण तथा ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को भवन उद्घाटनका लागि खोटाङ आउनुभएका नेता शर्माले समाज परिवर्तनका लागि देशका तीनवटै सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । 

“देशमा राजनीतिक अस्थिरता छ । राजनीतिक अस्थितरताले जनतामा निराशा छाएको छ । यसलाई निराकरण गर्न राष्ट्रिय सहमति आवश्वक छ”, उहाँले भन्नुभयो, “राजनीतिक दलहरूले एजेण्डामा सहमति गर्नुपर्यो । राजनीतिक दलले सहमति नगरी देशले निकास पाउँदैन ।”

देशमा पछिल्लो समय नेताको लहडमा विकास गर्ने प्रवृत्ति मौलाएको प्रति इङ्गित गर्नुहुँदै उहाँले विकासको मोडालिटी परिवर्तन गर्न आवश्यक रहेको पनि बताउनुभयो । “नेताहरूले केलाई प्राथमिकीकरण गर्ने हो त्यो स्पष्ट हुनुपर्यो । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्नुभएको सरकार भ्रष्टाचार नियन्त्रण अभियानमा छ । योसँगै परराष्ट्र नीतिलाई समेत सन्तुलित बनाउनुपर्यो”, उहाँले भन्नुभयो, “सन्तुलित परराष्ट्र नीति भएमा मात्र देशले केही निकास पाउँछ ।”

नेता शर्माले देशमा प्राप्त उपलब्धि समाप्त पार्ने खतरा रहेको पनि बताउनुभयो । “संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिताजस्ता उपलब्धि माओवादीको दशवर्षे जनयुद्धको बलमा स्थापना गरिएको हो । यसलाई समाप्त पार्न केही शक्ति लागिपरेका छन् । यो खतराको विषय हो”, उहाँले भन्नुभयो, “यसलाई संरक्षण गर्दै कार्यान्वयन गर्न सबै जागरुक हुन आवश्यक छ । जनतामा छिटो परिणाम चाहिएको छ । परिणाम खोज्ने चाहनामा प्राप्त उपलब्धि गुम्ने खतरा छ । यसलाई सांस्कृतिक रुपान्तरण अभियानका रूपमा जनतालाई सुसूचित गर्न आवश्यक छ ।”

नेता शर्माले जनप्रतिनिधिले सामाजिक न्याय, न्याय सम्पादन, निष्पक्षता र जनमुखी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । 

दिक्तेलस्थित भवनगैरामा निर्माण गरिएको प्रतिष्ठानको भवन उद्घाटन गर्दै नेता शर्माले सहिदहरूको सपना पूरा गर्न हरेक नेतृत्वले पहलकदमी लिनुपर्ने बताउनुभयो ।

उहाँले प्रतिष्ठानको भवनसँगै सोही भवनमा स्थापना गरिएको पुस्तकालयसमेत उद्घाटन गर्नुभयो । प्रतिष्ठानको छ आना जग्गामा निर्माण गरिएको चारतले पक्की भवनमा नेकपा ९माओवादी केन्द्र० जिल्ला समन्वय समिति खोटाङको कार्यालयसमेत राखिएको छ ।

भवन निर्माणका लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा रु २० लाख, आव २०७६÷७७ मा रु एक करोड २० लाख, आव २०७८÷७९ मा रु १० लाख गरी रु एक करोड ५० लाखमा बजेट बिनियोजन गरेको थियो । प्रतिष्ठानका अध्यक्ष सुरश राईले भवनका लागि आव २०८९÷८० मा कोशी प्रदेश सरकारबाट प्राप्त रु ७५ लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट आव २०७९÷८० मा रु १० लाख प्राप्त भएको बताउनुभयो । 

प्रदेशबाट प्राप्त रु ७५ लाखबाट वृत्तचित्र निर्माण, दुईवटा ल्यापटप, एउटा क्यामेरा र एक प्रोजेक्टर खरिद गरिएको प्रतिष्ठानले जनाएको छ । सोही रकमबाट भवनको माथिल्लो तलामा ट्रस निर्माण, कुर्सी र टेबल खरिद, भवन कलरिङ, रु तीन लाखको पुस्तक, रु दुई ५० हजार पुस्तक छपाइमा खर्च भएको थियो र साथै द्वन्द्वपीडितको सामाजिक, आर्थिक अवस्था सर्वेक्षण तथा प्रतिष्ठानको वेबसाइट निर्माण पनि सोही रकमबाट गरिएको थियो । 

नगरपालिकाबाट प्राप्त रु १० लाख रकमबाट नगरपालिकाभित्र रहेका २५ जना द्वन्द्वपीडितलाई रु १५ हजारका दरले उपलब्ध गराइएको जनाइएको छ । विसं २०७५ पुस २७ गते तत्कालीन प्रदेशसभा सदस्य ९वर्तमान प्रतिनिधिसभा सदस्य० रामकुमार राई ‘पासाङ’, सहिद माता जयन्तादेवी कार्की र सहिद पत्नी शान्ति श्रेष्ठले संयुक्तरूपमा भवनको शिलान्यास गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्