भेट्रान्स फुटबलको उपाधि लेकसाइडलाई

शुक्रबार, चैत ९, २०८०

कास्की - पोखरामा सञ्चालन भएको ३५ वर्ष उमेरमाथिको ‘एट ए साइड भेट्रान्स’ फुटबल प्रतियोगिताको उपाधि लेकसाइडले जितेको छ । पूर्व फुटबल रेफ्री स्व कृष्ण गिरी सम्झनामा यही चैत ७ गतेदेखि फेवाताल किनारस्थित बाराहीघाट खेलमैदानमा पहिलो संस्करणको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा गार्डेन एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै लेकसाइड पहँेलो च्याम्पियन बन्न सफल भयो ।

उपाधि विजेता लेकसाइडले ट्रफीसहित रु एक लाख एक हजार एक सय ११ नगद पायो भने उपविजेता गार्डेनले रु ५१ हजार एक सय ११ मा चित्त बुझायो । खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा निर्णय गरिएको हो । पेनाल्टी सुटआउटमा लेकसाइडका गोलरक्षक विशाल बस्नेतले गार्डेन एफसीका विनोद गुरुङको प्रहार विफल बनाएपछि लेकसाइडले उपाधि चुम्न सफल भयो । 

बस्नेत प्रतियोगिताको उत्कृष्ट गोलरक्षक घोषित हुँदैै नगद रु पाँच हजार पुरस्कारसमेत पाउनुभयो । प्रतियोगितामा लेकसाइडका मिली गुरुङ सर्वोकृष्ट खेलाडी घोषित हुँदै रु १० हजार नगद पुरस्कार पाउनुभयो । प्रतियोगितामा सर्वाधिक गोलकर्ताका रूपमा एनए भेट्रानका कन्या गुरुङले रु पाँच हजार पाउनुभयो । अनुशासित टिम लेकसाइड सेतोले रु १० हजार पुरस्कार पायो । उत्कृष्ट प्रशिक्षकका रूपमा लेकसाइडका राम भुजेल घोषित हुनुभयो ।
प्रतियोगिताका विजेता तथा उपविजेता टोलीका खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा कुल १४ टिमले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्