प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की

शुक्रबार, चैत ९, २०८०

विराटनगर- कोसी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विन्दिया कार्की नियुक्त भएकी छन् । कार्की पूर्वप्रदेशसभा सदस्य हुन् ।‌

प्रदेश मन्त्रिपरिषद्ले बोर्डको सदस्यमा मदन खड्का र गौरीमान राईलाई नियुक्त गरेको छ । यसअघि उपाध्यक्ष रहेकी जीना कार्की अमेरिका गएपछि पद रिक्त थियो ।

बैठकले प्रदेशसभाका दुईजना सदस्यलाई कूटनीतिक राहदानीका लागि सिफारिस गर्ने, संघीय सरकारको सहमतिमा प्रदेश सरकारबाट प्रहरी चौकीहरू निर्माणका लागि बजेट दिने स्वीकृति प्रदान गरेको छ ।

यसै गरी बैठकले प्रदेशका प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको छ । बैठकमा १४ वटै जिल्लाका १/१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारले बताए ।

बैठकले प्रदेश सरकारले २०८१ सालमा दिने ५ वटा सार्वजनिक बिदा पनि स्वीकृत गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्