चैतको हिउँले खुम्बु क्षेत्र सेताम्मे

बिहीबार, चैत ८, २०८०

सोलुखुम्बु- सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन् ।

चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे बनेको छ भने पर्यटकदेखि बालबालिका हिउँ खेलेर रमाइरहेका खुम्जुङका स्थानीय छिमी शेर्पाले बताए । उनका अनुसार खुम्बु क्षेत्रमा आठदेखि दश इन्चसम्म हिउँ जमेको छ ।

जमिन तातिएकाले केही समयमै हिउँ पग्लिएको शेर्पाले बताए । ‘पूरै खुम्बु सेताम्मे बनेको छ । यहाँ हिउँले वनजङ्गल, घर, विद्यालय सबै ढाकिएको छ । बुधबार दिउँसोदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ । विद्यार्थीको परीक्षा चलिरहेकाले केही समस्या भइरहेको छ’, उनले भने ।

हिमपातपछि किसान भने खुसी भएका छन् । यतिखेर हिमाली भेगमा आलु रोप्ने समय भएकाले जमिन रसिलो हुने खुम्जुङकी ल्हेमी शेर्पाले बताए । चैतमा हिमपात भएपछि स्थानीयदेखि पर्यटन व्यवसायीसमेत आश्चर्यमा परेका उनको भनाइ छ ।

विगतमा पुस, माघमा पर्ने हिउँ अहिले चैतमा पर्नु स्वाभाविक मान्न नसकिने नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्