विश्वकप छनोटमा आज बहराइनसँग खेल्दै नेपाल

बिहीबार, चैत ८, २०८०

काठमाडौं - फिफा विश्वकप–२०२६ अन्तर्गत आज नेपालले बहराइनसँग खेल्दैछ । नेपालले विश्वकप छनोटअन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेल्न लागेको हो । खेल आज राति बहराइनको राष्ट्रिय स्टेडियममा आजराति १२ः४५ बजे सुरु हुनेछ ।


यो खेल नेपालमै हुने तालिका थियो । तर, एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालाको मैदान खराब भएपछि एसियाली फुटबल महासंघले खेल सञ्चालन हुन नसक्ने निर्णय गरेपछि बहराइनमा हुने भएको हो ।


नेपालले बिहीबार पहिलो खेल खेलेपछि मंगलबार बहराइनमै दोस्रो खेल खेल्नेछ । समूह ‘एच’मा रहेको नेपालले सुरुवाती दुई खेल गुमाइसकेको छ । नेपाल पहिलो खेलमा युएईसँग ४–० गोल र दोस्रो खेलमा यमनसँग २–० गोलले पराजित भएको थियो । नेपाल पहिलो चरणमा लाओसलाई पराजित गर्दै दोस्रो चरणमा पुगेको थियो ।

चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्