सबै कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल

शुक्रबार, चैत २, २०८०

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हित र जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताएका छन् ।

पार्टीनिकट महिला सङ्घद्वारा आज आयोजित भेलामा उनले कम्युनिष्ट विचार बोकेका सबै दल मिलाउने पक्षमा आफ्नो पार्टी रहेको बताउँदै त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि जनताको आर्थिक तथा सामाजिक रुपान्तरण हुन नसकेको बताउँदै उनले सबै कम्युनिष्टलाई गोलबद्ध गराएर देश बनाउन र जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्नेमा जोड दिए।

अध्यक्ष नेपालले देशमा छरिएका सबै कम्युनिष्टलाई मिलाएर बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि आफ्नो पार्टीले जस्तो पनि त्याग गर्न तयार रहेको प्रस्ट पारे । उनले भने, “हामीलाई कुनै पद ओगटेर बस्नु छैन । हामीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पनि चाहिएको छैन ।”

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अहिले कम्युनिष्ट एकताका लागि नयाँ चरणको छलफलमा रहेको जानकारी दिए । उनले भने, “हामीसँग कुन ढङ्गको व्यवहार हुन्छ त्यसमा भर पर्छ । हामी छलफल गर्दै जानेछौँ ।”

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्