मानव विकास सूचकांकमा नेपाल १४६ स्थानमा

बिहीबार, चैत १, २०८०

काठमाडौँ- संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले (युएनडिपी)ले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपाल तीन स्थानमाथि उक्लिएको छ । सन् २०२३/०२४ को प्रतिवेदनअनुसार नेपाल १४६ स्थानमा आइपुगेको हो । सन् २०२१ को प्रतिवेदनमा नेपाल १४९ स्थानमा थियो ।

युएनडिपीले विश्वव्यापी रूपमा सार्वजनिक मानव विकास प्रतिवेदन २०२३/०२४ ले नेपालले शून्य दशमलव शून्य एकले प्रगति गरेको जनाएको छ ।

‘नेपालको मानव विकास सूचकांक मान ०.६०१ छ, जसअनुसार नेपाल मध्यम मानव विकास श्रेणीमा पर्दछ र १९३ वटा देश र भूभागहरूमध्ये १४६ औँ स्थानमा रहेको छ । सन् २०२१ मा नेपाल १४९औँ स्थानमा थियो’ प्रतिवेदनमा उल्लेख छ, ‘सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकांकमा ०.०१० ले प्रगति गरेको छ, जुन विश्वव्यापी औसत ०.००४ भन्दा बढी हो ।

मध्यम मानव विकास श्रेणी भन्नाले मानव विकास सूचकांकको मान ०.५५० देखि ०.६९९ बीचको श्रेणीलाई जनाउँछ ।

युएनडिपीले सन् १९९० देखि २०२२ को बीचमा, नेपालको जन्ममा सरदर आयु १५.७ वर्षले, विद्यालय जाने औसत वर्ष ५.४ प्रतिशतले र विद्यालय जाने अपेक्षित वर्ष २.१ वर्षले परिवर्तन भएको जनाएको छ ।

नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जीएनआई) करिब १६५.७ प्रतिशतले परिवर्तन भयो’ प्रतिवेदनमा उल्लेख छ । 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  २०:२८
प्रतिक्रिया दिनुहोस्