भारतले माल्दिभ्सनजिकै सैन्य शिविर स्थापना गर्दै

आइतबार, फागुन २०, २०८०

भारतीय नौसेनाले ‘रणनीतिक रूपमा महत्वपूर्ण’ माल्दिभ्सको नजिकका टापुहरूमा सेनालाई बलियो बनाइरहेको बताएको छ । मालेले भारतीय सेनालाई घर पठाउन सुरु गर्नुभन्दा केही दिन अघि नै नयाँ शिविर खुल्ने भारतीय सेनाले जनाएको छ ।

चीन निकट मानिने मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले गत वर्ष भारतीय सेनालाई फिर्ता पठाउने वाचा गरेर चुनाव जितेपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा तिक्तता आएको छ ।

पूर्व–पश्चिम अन्तर्राष्ट्रिय जल मार्गमा फैलिएको उक्त द्वीपसमूहमा चीनको बढ्दो उपस्थितिप्रति भारत सशङ्कित रहेको र नयाँ शिविरले उक्त क्षेत्रमा नयाँ दिल्लीको ‘जानकारी पहिचान गर्ने निगरानी’ लाई विस्तार गर्ने भारतीय नौसेनाले शनिबार एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

मुइज्जुले भारतलाई माल्दिभ्समा रहेका ८९ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाउन आग्रह गरेका छन् । भारतीय योजना अनुसार पहिलो जत्था मार्च १० भित्र भारत प्रस्थान गर्ने र सबै दुई महिनाभित्र स्वदेश फिर्ता हुनेछन् ।

भारतको लक्षद्वीप टापुमा मार्च ६ मा खुल्ने नयाँ सैन्य शिविरले विद्यमान सानो टुकडीलाई ‘स्वतन्त्र नौसैनिक एकाइ’ मा परिणत गर्नेछ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्