जलनसम्बन्धी स्तरीय अस्पताल निर्माणमा म क्रियाशील छु : नेता भण्डारी

मंगलबार, फागुन १, २०८०

ललितपुर– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकमा जलनसम्बन्धी स्तरीय अस्पताल निर्माणमा आफू क्रियशील रहने बताएका छन् ।

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेता भण्डारीले मुलुकमा हालसम्म जलनसम्बन्धी स्तरीय अस्पताल बन्न नसक्नु दुखद भएको बताए । उनले राज्यमा जलनसम्बन्धी प्रभावकारी उपचार गर्ने अस्पतालको खाँचो औँल्याउँदै यसको स्थापनाका लागि आफूले पहल गर्ने उल्लेख गरे ।

विकाससँगै उपयोगिताबारे आमजनतामा जनचेतना फैलाउनुपर्ने भण्डारीको भनाइ थियो । “हामीले गरेको विकास जनतासम्म पुगेको छ । अब त्यसको उपयोगका बारेमा जनचेतना जगाउन आवश्यक छ । विकासको सही तरिकाले सदुपयोग नहुँदा यस्ता समस्या उत्पन्न भइरहेका छन्”, उनले भने । 

आगलागी, भूकम्प, बाढीपहिरोलगायत भवितव्यसम्बन्धी सुरक्षा सावधानीका विषय पाठ्यक्रममा नै समेटिनुपर्नेमा नेता भण्डारीले जोड दिए । सङ्घीय सरकारले जलनसम्बन्धी उपचार गर्ने गुणस्तरीय अस्पताल बनाउनुपर्ने भन्दै ललितपुर महानगरका प्रमुख, काठमाडौँका महानगरका प्रमुखलगायत मिलेर योजना अगाडि सानुपर्ने उनको भनाइ थियो । 

प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले ३० देखि ४० प्रतिशतसम्मको जलनको मुलुकमा उपचार सम्भव नहुनु दुखद भएको बताइन् । अहिले संसद्मा भवितव्यका पीडितलाई राज्यले उपचारको जिम्मेवारी लिनुपर्ने गरी कानुन निर्माण गर्न लागिपरेको उनको भनाइ थियो ।  

कार्यक्रममा कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठ, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, स्व विप्लव अधिकारीका पिता ठाकुरनाथ अधिकारीलगायतले आ–आफ्नो भनाइ राखेका थिए । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २१:३१
प्रतिक्रिया दिनुहोस्