रफाह शहर खाली गर्न इजरायली प्रधानमन्त्रीको आदेश

शनिबार, माघ २७, २०८०

काठमाडौं- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास विरुद्धको आक्रमणअघि दक्षिणी गाजा सहर रफाहबाट सर्वसाधारणलाई बाहिर निकाल्ने तयारी गर्न सेनालाई आदेश दिएका छन्।

रफाहमा करीब १५ लाख प्यालेस्टिनीहरुले शरण लिईरहेका छन् । अमेरिकाले इजरायललाई रफाहमा आक्रमण विपत्ति हुने चेतावनी दिएको छ भने ईयू र संयुक्त राष्ट्र दुवैले चिन्ता व्यक्त गरेका छन् ।

सहायता समूहहरूले पनि ठूलो संख्यामा रहेका मानिसहरुलाई शहरबाट बाहिर निकाल्न सम्भव नभएको बताएका छन् । नेतन्याहुले मानिसहरु हटाउने र हमासको बटालियनहरु नष्ट गर्नको लागि एक संयुक्त योजना मन्त्रिपरिषद्मा पेश गर्न आदेश दिएको उनको कार्यालयले जनाएको छ ।

कार्यालयले विज्ञप्ती जारी गर्दै हमासलाई नष्ट नगरी र रफाहमा रहेको चारवटा हमास बटालियनलाई छोडेर युद्धको लक्ष्य हासिल गर्न असम्भव रहेको जनाएको छ । रफाहको लडाईका क्षेत्रहरू खाली गर्न आवश्यक रहेको समेत विज्ञप्तिमा भनिएको छ ।

यस हप्ताको सुरुमा नै नेतन्याहुले रफाहमा आक्रमणका लागि तयार हुन सेनाहरूलाई आदेश दिएका थिए ।

अक्टोबर ७ यता गाजामा इजरायली हमलामा करीब २९ हजार व्यक्तिको मृत्यु भएको छ भने ६७ हजार भन्दा बढी घाइते भएका छन् । अक्टोबर ७ मा हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमानेको संख्या १ हजार १ सय ३९ पुगेको छ ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्