पेलेरै अघि बढे कोशीका मुख्यमन्त्री कार्की, मन्त्रिपरिषद विस्तारले कांग्रेस र गठबन्धनमा हंगामा

शनिबार, माघ २७, २०८०

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गठबन्धनलाई बेवास्ता गर्दै सरकार विस्तारमा पेलेर अगाडि बढेका छन्।

नेपाली कांग्रेससहित गठबन्धनका अन्य दललाई बेवास्ता गरी मन्त्रिपरिषद विस्तार गरेपछि कार्कीविरुद्ध सहयात्री दलसहित कांग्रेस संस्थापन पक्षका नेताले आगो ओकल्न थालेका छन्। 

प्रदेशमा संस्थापन पक्षका नेता उद्धव थापाले कार्कीले बिना सल्लाह मन्त्रिपरिषद विस्तार गरेको आरोप लगाएका छन्। मुख्यमन्त्री बनेको तीन महिना बितेपछि उनले सरकार विस्तार गरेका हुन्।

मुख्यमन्त्री नियुक्त बन्ने बेला विद्रोहमा साथ दिएका रामकुमार खत्रीसहितलाई कार्कीले मन्त्री नियुक्त गरेका छन्। खत्रीलाई उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

संस्थापन पक्षका भनेर चिनिएका प्रदीप सुनवरलाई स्वास्थ्य मन्त्री बनाएका छन्। यस बाहेक उनले मुख्यमन्त्री हुने बेलामा आफूलाई साथ दिएका इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्री र सुनिता कुमारी गुरुङ रामलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका छन्।

यसअघि नै उनले आफूसँगै विद्रोह गरेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्री बनाएका थिए। 

कार्कीले माओवादीका नारायण बुर्जा मगरलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र राजेन्द्र कार्कीलाई सामाजिक विकास मन्त्रालयको जिम्मा दिएका छन्।

सत्तामै रहेको एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले यो सरकार नसच्चिए विकल्प खोजिने चेतावनी दिएका छन्। यहि कारण अहिले सत्ता गठबन्धनमा हंगामा भइरहेको छ।
 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्