विमानस्थलमा हातपात प्रकरण : निलम्बन सिफारिस प्रहरी कर्मचारीलाई डीआईजीले दिए पुरस्कार

शुक्रबार, माघ २६, २०८०

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतलाई हातपात गर्ने तीन जना प्रहरी कर्मचारीलाई प्रहरी नायव महानिरिक्षक (डीआईजी) अर्जुन चन्दले पुरस्कृत गरेका छन्। 

उक्त प्रकरणमा गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले निलम्बनका लागि सिफारिस गरिएका प्रहरी अधिकारीलाई डीआईजी चन्दले पुरस्कार दिएका हुन्। 

डीआईजी चन्दले विमानस्थलमा खटिएका प्रहरी नायब निरीक्षक (सई) प्रकाश चौधरी, प्रहरी सहायक निरीक्षक (असई) सन्जय तामाङ र प्रहरी जवान रविजंग गुप्तालाई क्रमशः एक हजार २ सय, तामाङलाई एक हजार १ सय र गुप्तालाई ८०० रुपैयाँ नगदसहित पुरस्कृत गरेका हुन्। 

पुरस्कृत गरिएको बारे प्रहरीको अभिलेख राष्ट्रिय प्रहरी किताब खानामा हुने गरी पत्र पठाइएको छ।

केही दिनअघि अध्यागमन विभागका शाखा अधिकृतलाई सुरक्षा जाँच गर्ने क्रममा विवाद भएको थियो। विवादकै क्रममा हातपात भएको थियो। 

गृह मन्त्रालयको छानबिन समितिले असई तामाङ र जवान गुप्ताले कर्मचारीमाथि हातपात गरेको भनी निलम्बन गर्न सिफारिस गरेको थियो।

सोही प्रकरणपछि भने डीआईजी चन्दले राजीनामा दिएका थिए। तर पछि राजीनामा फिर्ता लिँदै उनले विदा लिएका थिए।
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्