मलेसियाको हिरासतबाट १०० भन्दा बढी रोहिंग्या शरणार्थी फरार

शुक्रबार, माघ १९, २०८०

काठमाडौँ- मलेसियामा रोहिङ्ग्या शरणार्थी रहेको हिरासत केन्द्रमा भएको हिंसात्मक झडपपछि १०० भन्दा बढी शरणार्थी हिरासतबाट भागेका छन् भने भाग्ने क्रममा राजमार्गमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

उत्तरी पेराक राज्यको बिदोर अस्थायी अध्यागमन डिपोबाट भाग्नुअघि ११५ रोहिंग्या आप्रवासी र अन्य १६ जनाले आफ्नो हिरासत भवनमा दङ्गा गरेको स्थानीय प्रहरी प्रमुख मोहम्मद नईम अस्नावीले एएफपीसँगको कुराकानीमा पुष्टि गरे ।

प्रहरी र अन्य निकायका अधिकारीहरूले बेपत्ता थुनुवाहरूको खोजी गरिरहेको नइमले बताए ।

उनले उत्तर–दक्षिण राजमार्गमा अँध्यारोमा गुडिरहेको गाडीको ठक्करबाट एक शरणार्थीको मृत्यु भएको बताए ।
प्रहरीका अनुसार दङ्गा र झडपको कारणबारे अनुसन्धान भइरहेको छ ।

आफ्नो बौद्ध बहुल मातृभूमि म्यान्मामा उत्पीडनको शिकार भई मुस्लिम बहुल मलेसिया, इन्डोनेशिया र बङ्गलादेशको शरणार्थी शिविरहरूमा रहँदै आएका छन् । यसमध्ये अधिकांश बङ्गलादेशमा रहेका दर्जनौँ शरणार्थी शिविरहरूमा रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्