ईडिभीमा नक्कली शैक्षिक प्रमाणपत्र

ईडिभी परेर नक्कली प्रमाणपत्र पेस गर्ने १० जना दूतावासबाटै पक्राउ

बिहीबार, माघ १८, २०८०

काठमाडौँ–  प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रसहित १० जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा एकसाथ नक्कली प्रमाणपत्र बनाउनेलाई अमेरिकन दूतावासबाट पक्राउ गरेको हो । 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार इलेक्ट्रिक डाइभरसिटी भिसा (ईडिभी) लोटरी २०२३ को नतिजामा लोटरी परेर कागज नपुगेपछि नक्कली प्रमाणपत्र बनाउने समूह फेला परेको हो । डिभी परेपछि प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका व्यक्तिले भिसा प्रयोजनका लागि एसएलसी तथा प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेस गरेको खुलेपछि उनीहरू पक्राउ परेका हुन् । 

प्रहरीको टोलीले विशेष सूचनाको आधारमा सुरुमा महाराजगञ्जस्थित अमेरिकन दूतावासबाट विवेक उपाध्यायसहित तीन जनालाई नियन्त्रणमा लिएर जाँचबुझ गर्दा अन्य सात जना पक्राउ परेका हुन् । 

प्रहरीले सञ्जय महर्जन, भगवती उप्रेती, रोना गुरुङ, सुमन ढकाल, सक्षम अर्याल, सुरज अधिकारी, अशोक श्रेष्ठ, पुरुषोत्तम मल्लिक र स्वर्णिम दाहाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

EDV-crime-1-1706793139.jpg

EDV-crime-2-1706793139.jpg

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्