विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने

सोमबार, माघ १५, २०८०

काठमाडौँ- विज्ञापन बोर्डले सार्वजनिक स्थानमा राखिने होडिङबोर्ड र सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ । 

बोर्डले आज आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरूको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ जारी भएपछि यस क्षेत्रलाई नियमन र व्यवस्थित गरिएको बताए । उनले विज्ञापनमा स्वदेशी कलाकारलाई प्रोत्साहन दिन त्यस्तो प्रबन्ध गरिएको भन्दै सार्वजनिक स्थानमा राखिने होडिङबोर्ड तथा सञ्चारमाध्यममा प्रकाशन, प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जानकारी दिए ।

ऐनको कार्यान्वयनका क्रममा विज्ञापन नियमन गर्ने नियमावली (पहिलो संशोधन, २०८०) र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ जारी भई कार्यान्वयन ल्याइएका भन्दै अध्यक्ष हुमागाईँले सोको पालनामा सहयोग गर्न कलाकार र सञ्चार माध्यमलाई आग्रह गरे ।

विज्ञापनमा अभिनय गर्दा लैङ्गिक र उपभोक्तामैत्री हुनुपर्ने, अश्लील र हिंसालाई प्रोत्साहन गर्ने तथा अफबाह फैलाउने खालका हुन नहुने, राष्ट्रियता एवं राष्ट्रिय स्वाधीनतामा खलल पुर्याउन नहुने तथा कानुनतः निषेध गरिएका वस्तु र सेवाको प्रवर्द्धन गर्न नहुने आचारसंहितामा उल्लेख छ । 

ती व्यवस्था पालना नभएमा कानुनी कारबाही हुने भएकाले त्यसप्रति सजग रहन अध्यक्ष हुमागाईँले आग्रह गरे । उनले सरकारले ल्याउने सामाजिक सञ्जाल व्यवस्थापन ऐनमा पनि यस विषयमा उपयुक्त व्यवस्था गराउन आग्रह गरिएको जानकारी दिए ।
     
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवा केसीले जानेर वन नजानेर कानुन विपरीत हुने विज्ञापनमा अभिनय गर्दा कलाकारले समस्या खेप्नु परेको उल्लेख गर्दै होर्डिङबोर्ड र अन्य विज्ञापनमा नेपाली कलाकारको सहभागिता अनिवार्य गराउनुपर्ने बताए । 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्