सुरक्षा सुझाव

सरूवा भएका नेपाल प्रहरीका डीआईजीहरूलाईं पूर्वएसपीका नौ बुँदे झटारो

बुधबार, पुस २५, २०८०

नेपाल प्रहरीका केही थान प्रहरी नायव महानिरिक्षक (डीआईजी) साबहरूको सरुवा भएछ। 

सामाजिक सञ्जालमा फोटो राखेर बधाई दिने प्रतिष्पर्धा नै चलेको छ छ्यापछ्याप्ति। अहिले सरुवा हुनुभएका डीआईजी साबहरूको जागिर प्रहरीमा ३० बर्षे नहटेको परिस्थितिमा गन्तिका हिसाबले धेरै जसोको १२ महिना पनि छैन। 

नयाँ जिम्मेवारीमा जाने डीआईजी साबहरूले पनि बिगतका हाकिमहरूकै शैलीमा काम गर्ने हो भने सरुवाको जोस केही दिनमै बेहोसीमा बदलिने छ। फरक ढंगले काम गर्नका लागि केही सुझाब दिन चाहन्छु।

१) नेपाल प्रहरीका अनुसन्धान गर्ने प्रहरी कार्यालयमा देश भरि गरेर हजारौं मुद्दा पेण्डिङमा छन्। कर्तब्य ज्यान, जबरजस्ती करणी, सवारि ज्यान, लागु औषध कारोवार जघन्य अपराधका देखि लिएर आम जनसाधारण पीडित भएका ठगी, बैंकिङ कसूर(चेक बाउन्स) लगायतका धेरै मुद्दाहरू पेण्डिङमा छन्। ति मुद्दाहरूको सही तबरले अनुसन्धान नै नगरि समय बिताएर अदालतमा टेकाउनुलाई मुद्दा फर्छ्यौटको नाममा पीडितलाई पीडित बनाएर अभियुक्तको पहिचान, पक्राउ नै नगरि अपराधिलाई बिधिबत उन्मुक्ति दिने प्रकृयालाई बन्द गराएर पुराना मुद्दाका पेण्डिङ मुद्दाहरूलाई बास्तबमै अनुसन्धान गरेर अपराधिको पहिचान, पक्राउ गरेर अदालति प्रकृयाको शूरुवात गर्ने शुभकार्यको थालनी गर्न।

२) सादा पोशाकमा तल्ला दर्जाका प्रहरीलाई खटाउने, उनीहरू बाट काम पनि लिने, दाम पनि कमाउने, नाम पनि कमाउने अनि आफ्नो मतलब सकिए पछि तिनै तलका काम गर्ने प्रहरीलाई लाखा पाखा पठाएर माथिल्ला दर्जाका अधिकृतहरूलाई चोख्याउने काम बन्द गर्ने।

३) प्रहरी परिचालनका नाममा बिना कुनै खतराको मुल्यांकन प्रहरी परिचालन गराउने अनि कुनै दुर्घटना भएमा तल्ला दर्जाका अधिकृतहरू (भर्खरैको बालकुमारीको घटनामा जस्तै) लाई निलम्बन र कारबाहिको डण्डा चलाउने प्रहरी प्रधान कार्यालयको तजबिजीलाई रोक्नुस्।

४) ट्राफिक कारवाहिको नाममा सर्बसाधारणलाई दुख दिन बन्द गर्नुस। सवारि यातायात कानूनमा स्पष्ट लेखिएको छ कुनै पनि नागरिकको लाइसेन्स वा उसले प्रयोग गरेको सवारि साधनको अनुमति पत्र नवीकरण नगरेमा हरेक बर्ष जरिवाना तिरेर नवीकरण गर्ने कानुनि ब्यबस्था छ। जस अनुसार नविकरण १ बर्ष फेल भएमा १००% जरिवाना तिरेर, २ बर्ष फेल भएमा २००%, ३ बर्ष नविकरण फेल भएमा ३००%, ४ बर्ष फेल भएमा ४००% र ५ बर्ष फेल भएमा ५००% जरिवाना तिरेर सवारि चालक अनुमति पत्र र सवारि दर्ता किताव नविकरण गर्न पाइन्छ। त्यसैले ५ बर्ष सम्म नविकरण नभएका सवारि चालक अनुमति पत्र र सवारि दर्ता कितब देख्ने बित्तिकै जरिवानाको चिट काट्न नथाल्न निर्देशन दिनुहोस किनकि मलाई थाहा छ प्रहरीकै सबै गाडिको न ब्लु बुक नविकरण भएको हुन्छ न त्यसको इन्स्युरेन्स नै हुन्छ। जुन काम यहाँहरूले आफैंले चढ्ने गाडिको गराउनु भएको छैन र गराउन सक्नुभएको छैन त्यसको लागि आम नागरिकलाई जरिवाना गराउने कार्य बन्द गराउनुहोस। तर ६ बर्ष भन्दा बढि नविकरण फेल भएका सवारि चालक अनुमति पत्र र सवारि साधनलाई नियन्त्रणमा लिएर लिलामी प्रकृया अगाडि बढाउन पाउने कानूनी अधीकार छ त्यसको प्रयोग गर्ने परिपाटि बसाउनुहोस्।

५) प्रहरी मेरो साथी भनेर नारा लगाउनुहुन्छ, भाषण ठोक्नुहुन्छ तर के बास्तबमै प्रहरी जनताको साथी जस्तै भएर काम गर्छन त? यसो सादा पोषाकमा डि. आइ. जि.पि. साब हो भनेर कसैले पनि नचिन्ने गरि छद्मभेषमा हिड्नुहोस् अनि ट्राफिक चेकिङको नाममा र सुरक्षा चेकजाँचको नाममा खटिएको तपाईको प्रहरीको आम जनता प्रतिको ब्यबहारलाई गहिरिएर अध्ययन गर्नुहोस, तपाईलाई जनताले साथी भन्छन कि के भन्छन आफैं थाहा हुन्छ।

६) तपाई प्रदेश प्रमुख भएर आउनुभएको छ प्रदेश प्रमुख मात्रै होइन तपाई तपाइको प्रदेशको सबै प्रहरीको अभिभावक पनि हो । केबल प्रधान कार्यालयको लाचार छाँया मात्रै होइन र म बिबेक प्रयोग गर्छू मेरो प्रहरि को मुल्यांकन म गर्छू र मेरो मुल्यांकन गलत छ भने मलाई कारवाहि गर्नुस नत्र म मेरा मातहतका प्रहरीलाई मेरो आदेश र अनुगमनमा असल नियतले गरेको कामको लागि सजायँको भागिदार बन्न दिन्न भनेर कार्यक्षेत्र प्रवेश गर्नुस्।

७) प्रहरीको सेवाको आबश्यकता ठुला घराना र शक्तिशाली हरूलाई हुदैन। उनीहरूकोमा त प्रहरीका सबै कि चाकरिमा, कि परिचयको नाममा घर कार्यालयमै पुग्ने प्रचलन नै छ भनेर मैले भनिरहनु पर्दैन तर प्रहरीको बास्तबिक सेवाको आबश्यकता गरिब, किसान, मजदुर, निर्धा, असहाय, कमजोर, हेपिएका, मिचिएका, आफै आफ्नो लागि बोल्न र लड्न नसक्नेहरूको लागि छ। त्यसैले निर्धा , निमुखाहरूको लागि काम गर्ने प्रहरी तयार पार्नुस्।

८) ट्राफीक चेकजाँचका नाममा मोटर साइकल , चालकहरूलाई जहाँ पनि रोक्ने ब्लुबुक माग्ने, लाइसेन्स माग्ने, ट्राफीक नियमको पालना नगरेको देख्ने माइक्रोस्कोपिक ट्राफीक प्रहरीहरूलाई करोड माथिका गाडि चढ्नेहरूले ट्राफिक नियम पालना गरेका छन कि छैनन, उनीहरूको सवारि चालक अनुमतिपत्र नवीकरण भएको छ कि छैन, उनीहरूको सवारि नविकरण भएको छ कि छैन भनेर चेक गर्न सक्ने सक्षम बनाउनुहोस्।

९) यति गरे अहिलेलाई पुग्छ बाँकि आबश्यक परे सुझाब माग्नुहोला ।

(लेखक नेपाल प्रहरीका पूर्व प्रहरी उपरिक्षक (एसपी) हुन्।)

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्