सत्ता राजनीतिमा हिन्दूत्वको चर्चा

कांग्रेसभित्र उठेको धर्मको प्रश्न सर्वदलीय बैठकमा राखेपछि देउवासँग झस्किए प्रचण्ड

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौंअहिलेको व्यवस्था र उपलब्धीलाई अझ बलियो बनाउने सहमति गरेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राखेको एउटा प्रसङ्ग अहिले चर्चामा रहेको छ।

नेपाली कांग्रेसभित्र नै बहुमत महासमिति सदस्यले इन्डोर्स गर्नका लागि दबाब दिइरहेको संविधानमा हिन्दू धर्म सापेक्षता राख्नुपर्ने विषयलाई देउवाले सर्वदलीय बैठकमा उठाए।

अर्को महिनामा हुने महासमितिको बैठकमा संविधानमा हिन्दू धर्म सापेक्षता समेट्नुपर्ने विषयले प्रवेश पाउने भएपछि देउवाले सर्वदलीय बैठकमा नेतालाई भने८४ प्रतिशत हिन्दू भएको देशमा धर्म निरपेक्षता त भएन नि !

देउवाको यो प्रश्न सुन्नासाथ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झस्किएको उच्च स्रोतले दाबी गरेको छ। देउवाले अहिलेकै व्यवस्थालाई उन्नत बनाउने विषयमा सहमति गरे पनि धर्मको विषयमा पुनर्विचारको प्रश्न उठाएका थिए।

यो कांग्रेस केन्द्रीय समितिमा उठेको विषय र आगामी महासमिति बैठकमा पेचिलो बन्ने मुद्दाका रुपमा देउवाले बुझेका छन्।

देउवाले ८४ प्रतिशत भन्दा बढी सनातन हिन्दू रहेका देशमा धर्म निरपेक्षता भन्ने शब्द राख्दा नै त्रुटि भइसकेको राखिदिए। कांग्रेसका पुराना नेताले नै तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालालाई भुलभुलैयामा पारेर अख्तियारी पाएका नेता कृष्णप्रसाद सिटौलाले धर्म निरपेक्षता पास गराएको टिप्पणी गर्दै आएका छन्।

यसैकारण पनि तत्कालिन नेता कृष्णप्रसाद भट्टराई कांग्रेसमा निस्क्रिय भएका थिए। उनी हिन्दूत्व र राजसंस्था अनिवार्य हुनुपर्नेमा जोड दिएका थिए।

देउवाले पनि हिन्दूत्वको विषय उठाएको प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पुष्टि गरेका विवरण बाहिर आएका छन्। उनका अनुसार, देउवाले संविधानमा धर्मका विषयमा शब्द छनोट नमिलेको बताएका थिए ।

संविधानमा धर्म निरपेक्षता शब्द लेख्दा धेरै हिन्दूहरुले चित्त दुखाएकाले असन्तुष्टि बढिरहेको विषय देउवाले उठाएका थिए। यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि मौन स्वीकृति रहेको थियो।

सर्वदलीय बैठक सकेर बाहिर निस्कने क्रममा प्रधानमन्त्री प्रचण्डले देउवाले उठाएको विषयमा खासै चर्चा गरेका थिएनन्। हतारमा रहेका उनले ठूलो प्रतिक्रिया पनि दिएका थिएनन्।

जुन विषयले अहिले व्यवस्था र उपलब्धीमा चुनौति थपेको छ, त्यसविरुद्ध लड्ने भन्ने सहमतिका लागि डाकिएको बैठकमा सबैभन्दा ठूलो पार्टीको प्रस्तुती नै उसका पक्षमा देखिएपछि प्रधानमन्त्री नझस्किने कुरै भएन, उच्च स्रोतले भन्यो,‘यो विषय अहिले निमिट्यान्न हुन सक्तैन।

यता कांग्रेसका नेता शंकर भण्डारीलगायतले भने महासमितिको बैठकमा हिन्दूत्वको विषयलाई जोडदार रुपमा उठाउनका लागि पहल  गरिरहेका छन्। अहिले धार्मिक रुपमा देखिएको विवाद र धर्मान्तरणको तथ्यांकलाई आधार मानेर नै बैठकमा मुद्दा उठाउन लागिएको हो।

भण्डारी ०७२ सालमा संविधान जारी गर्नेबेला धर्म निरपेक्षताको विरोधमा फरक मत लिखित रुपमा नै दर्ज गर्ने तयारीमा थिए। तर तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले पछि संशोधन गरिने भनेपछि ब्याक हटेका थिए।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्