सिटिजन्स बैंकको अध्यक्षमा पाण्डे

शुक्रबार, असोज २६, २०८०

काठमाडौं- सिटिजन्स बैंक अध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन्। बैंकको १७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समिति बैठकले पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो।

बैंकको १७औं वार्षिक साधारणसभा असोज २६ (शुक्रबार) बिहान ११ बजे सुरु भएर २ बजे सकिएको थियो। नवनिर्वाचित अध्यक्ष पाण्डे यसअघि सिटिजन्सकै सञ्चालक थिए।

यसअघिका अध्यक्ष राजनसिंह भन्डारीको कार्यकाल समाप्त भएपछि सञ्चालक समितिले पाण्डेलाई आगामी चार वर्षका लागि चयन गरेको हो ।

अध्यक्ष पाण्डे बैंक सञ्चालक समिति सदस्य हुँदा मर्जर तथा एक्विजिसन समितिमा रहेर तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रियामा मुख्य भूमिका निभाएका थिए। उनी बैंक संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्छन्।

अध्यक्ष पाण्डेले इिन्जनियरिङ संकायमा स्नातक गरेका छन् भने दुई दशकभन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापारमा सक्रिय सहभागी छन्।

उनी नेपाल उद्योग वाणिज्य महासंघलगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई नेतृत्वदायी भूमिका निभाइरहेका छन्। पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास बैंक सञ्चालक समितिको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्