माओवादीको तीनमहिने रूपान्तरण अभियान ‘कर्मकाण्ड’मै सीमित

सोमबार, असोज ८, २०८०

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सञ्चालन गरेको तीनमहिने रूपान्तरण अभियान ‘कर्मकाण्ड’मै सीमित भएको छ।

‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित सुरु भएको तीनमहिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ फितलो भएको माओवादी केन्द्रकै नेताले स्वीकार गरेका छन् ।

माओवादी केन्द्रले जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यसहित सञ्चालन गरेको रूपान्तरण अभियान प्रभावकारी हुन सकेको छैन। गत १६ भदौमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गरेको सो अभियान ७ सय ५३ वटै पालिका एवं ६ हजार ७ सय ४३ वडामा सञ्चालन गर्ने भनिएको थियो । अभियान १५ मंसिरसम्म सञ्चालन हुनेछ ।

सो अभियानमा पार्टीकै पदाधिकारीसहित केन्द्रीय नेतृत्वहरू नै वडासम्म पुग्न सकेका छैनन् । उद्घाटन भएको दुई–तीन दिन जोडतोडले लागेका शीर्ष नेताहरू अहिले वडामा नभई राजधानी काठमाडौंकेन्द्रित भएका छन् । कतिपय नेताहरू पार्टीको अभियान छोडेर विदेश यात्रामा समेत पुगेका छन् ।

पार्टी अध्यक्ष प्रचण्ड अहिले अमेरिका भ्रमण सकेर चीन भ्रमणमा रहेका छन् । पार्टी वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठ नेपाल सरकारको गृहमन्त्रीसमेत हुन् । उनी अहिले सरकारकै काममा व्यस्त छन् । पार्टी उपमहासचिव रहेका शक्तिबहादुर बस्नेत ऊर्जामन्त्री छन् । पार्टीका केन्द्रीय अन्य नेताहरूसमेत कोही मन्त्री त कोही मन्त्रीका सचिवालयमा सरकारी कामकाजमै व्यस्त रहेका देखिन्छन् ।

पार्टी उपाध्यक्ष रहेका कृष्णबहादुर महरा, महासचिव देव गुरुङ कुनै कार्यक्रममै देखिँदैनन् । उपाध्यक्ष रहेकी पम्फा भुसाल भने ललितपुरका विभिन्न कार्यक्रममा सक्रिय रहेकी छन् । अर्का उपाध्यक्ष अग्नि सापकोटा भने पार्टीको प्रवक्ताको जिम्मेवारी पूरा गर्दै अभियानलाई सफल बनाउन प्रचारका काममा व्यस्त छन् । उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा भने पार्टी अभियानमा जोडिएका देखिन्छन् । उपमहासचिव पुन उपत्यका विशेष प्रदेशका इन्चार्ज र शर्मा बाग्मती प्रदेशका इन्चार्जसमेत हुन् । कर्णालीका इन्चार्जसमेत रहेका उपमहासचिव मातृका यादव कर्णाली प्रदेशमै रहेका छन् ।

पार्टी सचिव गणेश साह र पोलिटब्युरो सदस्य लेखनाथ न्यौपाने बिरामी भएपछि आराम गरिरहेका छन् । पूर्वमन्त्री अमनलाल मोदी केही समयअघि उदयपुरको कार्यक्रममा देखिएका थिए भने उनी अहिले नयाँ दिल्ली पुगेका छन् । उता, पोलिटब्युरो सदस्य दीपशिखा भने दक्षिण कोरियामा छन् ।

अभियानमा सक्रिय भएका पोलिटब्युरो सदस्य हिमाल शर्मा अहिले सिन्धुपाल्चोकमा छन् । पार्टीले जिम्मेवारी तोकेर खटाएका नेताहरू आफ्नो कार्यक्षेत्रमा पुगेर काम नगरे कारबाहीको विषय बन्ने शर्माले बताए । अधिकांश नेता आफ्नो जिम्मेवारी पूरा गर्दै कार्यक्षेत्रमा खटिएको बताउँदै कार्यक्षेत्रमा नजाने, काम नगर्ने नेतालाई पार्टीले कारबाही गर्ने शर्माले प्रस्ट्याए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०६:२६
प्रतिक्रिया दिनुहोस्