मोहरा महराः राजनीतिभित्रको राजनीतिका जटिल पात्र

मंगलबार, साउन ३०, २०८०

काठमाडौंयुद्धका क्रममा नै तत्कालिन सरकारसँग वार्ताका लागि नेकपा माओवादीले डा. बाबुराम भट्टराईको नेतृत्वमा पठाएको टोलीका सदस्य कृष्णबहादुर महरालाई मास्टर अफ दी मास्टर भन्ने परिचयले स्थापित गरेको थियो।

लामो समयसम्म माओवादीको प्रवक्ताका रुपमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खास विश्वासिला पात्रका रुपमा चिनिने उनै महरा अहिले माओवादी केन्द्रका लागि भने विवादको श्रृङ्खलाबद्ध कथाका खलपात्र बनिरहेका छन्।

माओवादी केन्द्रबाहिरका राजनीतिक दलका नेता कार्यकर्ताले उनीमाथि प्रश्न उठाउन स्वभाविक भए पनि, भित्र पनि उनी राजनीतिभित्रका रणनीतिको शिकार बनिरहेका छन्। सुन तस्करी काण्डमा नाम जोडिएपछि प्रवक्ताको जिम्मेवारी खोसिएका महरा भन्छन्,‘अनुसन्धानमा सरकारलाई सघाउन तयार छु भनेको छु। तर बोलाउँदैनन्।

केही हदसम्म प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले उनको प्रतिरक्षाको प्रयत्न गरे पनि माओवादीभित्रबाटै अनुसन्धानमा सहयोग गर्नका लागि दबाबमा परेका छन्, महरा। यसअघि पनि उनी अनेक विवादमा तानिएका थिए।

सरकार बनाउनका लागि चिनियाँ पक्षसँग ५० करोडको डिल गरेको अडिओ बाहिर आएको थियो। महराले तत्कालिन समयमा माओवादीको नेतृत्वमा सरकार बनाउनका लागि यस्तो डिल गरेको भन्ने विषयले हंगामा नै मच्चाएको थियो।

सभामुख भएका बेला आफ्नो सचिवालयमा काम गरेकी महिला रोशनी शाहीले यौन सम्बन्धमा रहेको आरोप लगाइन्। बलात्कार अभियोग लागेपछि महरा पूर्पक्षका लागि तीन महिना कारागार पनि बसेका थिए। पछि आरोप पुष्टि हुन नसकेपछि उनी मुक्त भएका थिए। तर शाहीले आरोप लगाउन भने छाडिनन्। शाहीलाई फर्गेट यस्टर्डे भन्ने म्यासेज पठाएको प्रमाण सतहमा आएपछि उनी विवादमा तानिए।

पछिल्लो पटक भने नौ किलो सुन तस्करी प्रकरणमा उनको र छोरा राहुल महराको नाम जोडिएको विषय सनसनी छ। यस विषयमा उनीमाथि कारबाही नगरिएको, अनुसन्धान नभएको भन्ने विषयले झन् विवादमा तानिएका छन्।

यी विवादसँगै उनलाई माओवादीभित्र दुई नेताले राजनीतिक कोपभाजनमा पार्नका लागि भूमिका खेलेको बताइन्छ। माओवादीको उत्तराधिकारीका रुपमा आफूलाई उभ्याएका उपमहासचिवद्वय बर्षमान पुनः र जनार्दन शर्माले महरालाई कारबाहीका लागि दबाब दिइरहेका छन्।

उच्च स्रोतका अनुसार माओवादीको उत्तराधिकारीमा नेत्रविक्रम चन्द विप्लवलाई भित्राउनका लागि महराले भूमिका खेलेका कारणले कोपभाजनमा पार्न खोजिएको हो। महरानिकट एक नेता भन्छन्,‘त्यसैले उहाँविरुद्ध माओवादीकै नेताले गुरिल्ला शैलीमा मिडिया प्रयोग गरेको हामीले पत्तो लगाएका छौं।

विवादमा तानिएपछि त्यसको जवाफदेहिता अनिवार्य हुन्छ नै, महराले त्यसमा आफूलाई उभ्याउन कोशिश गर्ने बताइसकेका छन्। तर, माओवादीकै राजनीतिक छविमा प्रश्न उठ्नेगरी उनलाई मोहरा बनाइएको तथ्य पनि नकार्न नसकिने रहेको टिप्पणी भइरहेका छन्।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्