काठमाडौँमा सडक जत्तिकै चौडाइमा पुल निर्माण गरिने

शुक्रबार, असार १५, २०८०

काठमाडौँ– काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले उपत्यकाको पुलको चौडाइ सडकको जत्तिकै चौडाइमा पुल निर्माण गर्ने भएको छ । विगतमा सडकमात्रै विस्तार भएकामा अहिले सडकजत्तिकै चौडाइमा पुल विस्तार गर्न लागिएको हो । अधिकांश सडकमा सडक निर्माणको थोरैमात्रै काम बाँकी हुँदा पुल निर्माण अघि बढाउन लागिएको आयोजनाले जनाएको छ । 

चावहिल–साँखु, जोरपाटी–सुन्दरीजल, कर्मनाशा खोला–गोदावरी, कलङ्की–थानकोटलगायतका सडकमा पुल बनाइने आयोजनाका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । थानकोट सडकमा बल्खु खोला, गोदावरीमा गोदावरी खोला, साँखुमा बागमतीसँगै मनोहरा र मनोमतामा पुल बनाउन लागिएको हो । उनले भन्, ‘यी पुलमा निर्माणमा जाने क्रममा रहेका छन् ।’

चावहिल–साँखु सडकमा यो वर्ष पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । दुईदेखि साढे दुई वर्ष अवधिका पुलहरू रहेको सूचना अधिकारी जोशीले बताए । उनले भने, ‘यो आवको ठेक्का भएर अहिले डिजाइन भइरहेको छ । अर्को वर्षमा पुल निर्माण हुनेछ ।’

पहिले दुई लेनको पुल रहेकामा अहिले कम्तीमा चार लेन हुने आयोजनाले जनाएको छ । सडक नै कम चौडाइमा विस्तार भएका ठाउँमा पनि कम्तीमा सडकको चौडाइ बराबरको पुल बनाइने आयोजनाले जनाएको छ । निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी डिजाइन एन्ड बिल्ड ठेक्कामार्फत निर्माण गर्न लागिएको हो । चावहिल–साँखु पुल निर्माण गर्न लागिएका तीन स्थानमध्ये सबैभन्दा बढी सवारी चाप नारायणटारको बागमती पुलमा रहेको छ ।

उपत्यकाका यी सडकमा रहेको सवारी चाप व्यवस्थापनका लागि सडक विस्तार भए पनि पुल साँघुरो नै भएकाले तीनलाई समेत विस्तारको योजना बनाइएको हो । उपत्यकामा थप ठाउँमा सडक विस्तारको योजना नरहेकाले अहिले पुलको नै काम हुने उनले बताए । विगतमा निर्माणस्थल खाली नहुँदा सात–आठ वर्षसम्म पनि सडक सम्पन्न नभएकाले सरकारले तत्काल नयाँ सडकमा विस्तारको योजना बनाएको छैन ।

पुल बन्दै भए पनि सडक सम्पन्न भएपछि बुझाइने आयोजनाले जनाएको छ । कुनै पनि सडक सम्पन्न भएपछि एक वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने र यसपछि सम्बन्धित डिभिजन सडक कार्यालयमा बुझाउने गरिएको छ । अहिले विस्तारका धेरै सडकमा निर्माण सकिएर मर्मत अवधि जारी रहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार